काँग्रेस बैठकमा कटाक्ष : ‘टिकट बेचेर कति पैसा कमाईयो ?’

काठमाडौं, चैत १३ । नेपाली काँग्रेसको जारी केन्द्रीय समितीको वैठकमा निर्वाचनको समयमा टिकट बिक्रि भएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति कटाक्ष गरेका छन् ।

केन्द्रीय सदस्य धनराज गुरुङले सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरिएको बताए । लिलामीमा राखिएका टिकट उपर न्यायिक छानविन हुनुपर्ने माग उनले गरेका छन् । गुरुङले टिकट विरतरणका क्रममा अर्का नेता रामचन्द्र पौडेललको पनि दोष रहेको बताए । निर्वाचनमा पराजय पश्चात संसदीय बोर्ड विधान विपरित भएको ज्ञान भएका पौडेलले अघि किन भन्न नसकेको भन्दै गुरुङलाई प्रश्न गरेका थिए ।

यस्तै अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाको उम्मेदवार बनाइएको भन्दै पैसाको चलखेल टिकट बितरण गरिएको आरोप लगाए ।

उनले सभाति शेरबहादुर देउवा पत्नी आरजुप्रति लक्षित गर्दै भने ‘क–कसले कहाँबाट पैसा ल्याए ? पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो ? हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।’

केसीले प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन नसकेको भन्दै हारको जिम्मा सभापतिले लिनुपर्ने बताए ।

अर्का नेता डा.रामशरण महतले पनि टिकट वितरण प्रक्रियाको छानविन हुनुपर्ने बताए । महतले काँग्रेसले १२ अर्बको बजेटलाई १२ सय अर्ब पुर्याएको जस लिन नसकको बताए ।

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

नेता शेखर कोइरालाले पनि हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने भन्दै निर्वाचनमा पार्टी परिचालन नभएको, भारतको नाकाबन्दी भन्न नसकेको, सरकारमा बस्दा काम गर्न नसकेको जस्ता आरोप लगाए ।

उनले देउवाप्रति कटाक्ष गरे ‘चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ?’

तर, सभापति पक्षधरका नेताहरुले भने हारको जिम्मा सभापतिलाई मात्र थुपार्न नपाईने बताएका छन् । यसअघि देउवा पक्षिय नेता रमेश लेखकले काँग्रेस सामुहिक नेतृत्वमा चल्ने पार्टी भएकोले हारको जिम्मा सामुहिक रुपमा लिनुपर्ने भन्दै सभापतिको बचाउ गरेका थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । बैठकले भारतमा उपचाररत नेता खुमबहादुर खड्काको स्वस्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *