मारुती व्यवसायीको पुराना गाडी नहटाउने चेतावनी, बरु आन्दोलन

धरान, चैत १३ । सरकारले २० वर्ष नाघेका सवारी साधन चैत १ गतेदेखि देशभरबाट हटाउने निर्णय गरी लागु गरेपनि धरानका मारुती यातायात व्यवसायीहरुले सो निर्णय नमान्ने भएका छन् ।

यातायात व्यवसायीको छाता संगठन अन्तर्गत रहि मारुती व्यवसायीहरुले पर्वत श्रेष्ठको संयोजकत्वमा ११ सदस्य संयुक्त संघर्ष समिति गठन गरी जनताको सेवा रोक्न नसकिने भन्दै सरकाले गरेको निर्णय सच्चयाएर जानुपर्ने बताएका छन् ।

उनीहरुले आज सुनसरी धरानको तिनकुने देखी भानुचोक हुँदै जिरो प्वाइन्टमा पुगी पुन भानुचोकमा आएर कोण सभा गरी सो चेतावनी दिएका हुन् ।

विरोध र्यालीमा करिब २ सयको संख्यामा मारुती भ्यान व्यवसायीहरुको भ्यान सहितको सहभागीता रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै समितिका संयोजक श्रेष्ठले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताएका थिए ।

साथै उनीहरुले तीन सुत्रीय २० बर्षे सवारी रोक्का गर्ने निर्णय खारेज गर्नुपर्ने, सहुलियत सहितको विकल्पको व्यवस्था गर्नुपर्ने, र रुट परमिटको समेत व्यवस्था हुनुपर्ने माग राखेको र ती मागको सुनुवाई नभए थप आन्दोलका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिएका छन ।

सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिने भन्दै उनीहरुले आक्रोष व्यक्त गरेका छन् ।

यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको छ ।

चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे जफत गरी सरकारले ‘रुट इजाजत’ नदिने निर्णय कार्यान्वयन गर्न चैत १ गतेदेखि विभाग समेत सडकमा आएको छ ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि सरकारले चैतदेखि हटाउने निर्णय गरेको थियो ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको विभागको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *