‘अबको एनआरएन युवाहरूको नेतृत्वमा’


विनय अधिकारी, (उपमहासचिवको उम्मेदवार) गैर आवासीय नेपाली सङ्घ (एनआरएन) बेलायत
गैर आवासीय नेपाली सङ्घ बेलायतको महाधिवेशन यही सेप्टेम्बर ९ मा हुँदैछ । यस पटकको महाधिवेशनमा तीन जना अध्यक्षका आकांक्षी सहित महासचिव, उपमहासचिव, सचिव लगायत अन्य पदहरुमा ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी घर चितवन भएर विगत ९ वर्षदेखि बेलायतमा रहेका युवा व्यवसायी विनय अधिकारीले एनआरएन बेलायतको निर्वाचनमा उपमहासचिवमा उम्मेदवारी दिनु भएको छ । अधिकारीलाई स्पष्ट वक्ता, समाजसेवा प्रति प्रतिबद्ध, सङ्गठन हाँक्न सक्ने उम्मेद्वारका रूपमा लिइएको छ । उहाँसँग एनआरएन बेलायतको महाधिवेशन र उहाँका एजेण्डाका विषयमा केशव सापकोटाले गर्नुभएको कुराकानीको संक्षेपः
तपाईँ कसरी बेलायत प्रवेश गर्नुभयो ?
बेलायत प्रवेश गर्ने मुख्य बाटो भनेकै उच्च शिक्षा अध्ययन गर्नु हो । ब्रिटिस आर्मीका परिवारको सङ्ख्या धेरै छ । आजभन्दा ९ वर्ष अघि म नेपालबाट उच्च शिक्षा हासिल गर्न भनेर यहाँ आएको हुँ ।
बेलायतमा प्रवेश गर्ने नेपालीहरूको उद्देश्य के हुन्छ ?
मैले भनिहाले नि ! अधिकांश नेपालीहरू बेलायत उच्च शिक्षा हासिल गर्न भनेरै आउँछन् । उच्च शिक्षा हासिल गर्दा, अथवा गरिसकेपछि नेपालीहरू आफ्नो योग्यता र क्षमता अनुसार विभिन्न व्यापार, व्यवसाय गरेर वा जागिर खाएर यहाँ स्थापित हुन्छन् । कतिले ठुला कम्पनीमा राम्रो पदमा रहेर काम गरेका छन्, कति नेपालीहरू होटेल, रेष्टुरेण्ट, ट्राभल्स एजेन्सी, पर्यटन व्यवसाय, एक्सपोर्ट इम्पोर्ट, तथा शैक्षिक व्यवसाय सञ्चालन गरेका छन् । र, यी सबै नेपालीहरूको उद्देश्य भनेको बेलायतमा सेटल हुने वा निश्चित समय बसेर पैसा कमाएर स्वदेशमै फर्कने हो ।
अहिले बेलायतमा कति नेपाली छन्, त्यसमध्ये एनआरएनमा आबद्ध कति छन् ?
यहाँ ब्रिटिस गोर्खा सैनिकहरुको परिवारको सङ्ख्या धेरै छ । विद्यार्थी, उद्योगी व्यापारी सबै गर्दा बेलायतमा २ लाख ५० हजारको हाराहारीमा नेपालीहरूको उपस्थिति छ । यसमा धेरै नेपालीहरू आ–आफ्ना सङ्घ र संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ । एनआरएन युकेमा यस पटकको महाधिवेशनका लागि करिब तीन हजार ६ सय नेपालीहरूले सदस्यता लिनु भएको छ ।
२ लाख ५० हजार नेपाली रहेको ठाउँमा एनआरएन जस्तो अन्तर्राष्ट्रिय संस्थामा थोरै सदस्य हुनुको कारण के हो ?
एकदमै महत्त्वपूर्ण प्रश्न लाग्यो । एनआरएन अन्तर्राष्ट्रिय सङ्गठन भए पनि बेलायतमा केही वर्ष यता सङ्गठन मजबुत बनाउन सकिएको छैन । एनआरएनले विद्यार्थी, भूपू सैनिक तथा साना रोजगारी भएका नेपालीहरूलाई समेट्न सकेन । एनआरएनमा जतिपनि नेपाली आबद्ध भए उनीहरूले यो धनीहरुको मात्रै संस्था हो भन्ने गलत मानसिकता देखाए । र, सामान्य नेपालीहरूलाई सहभागिता गराउने वातावरण नै बनाउन सकेनन् । एनआरएनको सदस्यता शुल्क, कार्यक्रमहरूमा सहभागी हुँदा दिनुपर्ने सहयोग, नेपालमा कुनै विपत्ति आइपर्दा दिइने आर्थिक सहयोगका धेरै भएकोले धेरै नेपालीहरू संस्थामा चाहेर पनि आउन नसकेका हुन् ।
अब एनआरएनलाई सबैको साझा संस्था बनाउन के गर्नुपर्ला ?
एनआरएन यूकेमा सबै प्रवासी नेपालीहरूको सहभागिता जनाउनका लागि सर्वप्रथम सदस्यता शुल्कलाई सहज बनाउन आवश्यक छ । यस पटक एनआरएनको भवन निर्माणका लागि भनेर सदस्यता शुल्कमा वृद्धि गर्दा पनि सङ्ख्या घटवढ भएको हो ।
अर्को कुरा बेलायत ठुलो देश भएकोले यहाँ धेरै ठाउँमा नेपालीहरू छरिएर रहेका छन् । एनआरएनलाई बेलायतका विभिन्न क्षेत्रहरूमा च्याप्टर बनाएर सञ्चालन गर्नुपर्ने देखिन्छ । विद्यार्थी, भूपू ब्रिटिस आर्मी, ब्यापारीहरुका लागि छुट्टाछुट्टै च्याप्टर बनाएर सङ्गठित गर्दा पनि धेरै नेपालीहरू आउँछन् ।
विगतमा एकल निर्णय गर्ने, व्यक्ति हाबी हुने परम्परा थियो । अबको नयाँ नेतृत्व सामूहिक निर्णय र पद्धतिमा जान आवश्यक छ । संस्थामा व्यक्तिगत निर्णयले प्राथमिकता पाएपछि संस्था धरासायी हुन्छ । एनआरएनमा प्रजातान्त्रिक अध्यासको खाँचो देखिन्छ । निर्वाचनकै कुरा गर्दा एनआरएनले अनलाइन भोटिङ सिस्टम लागू गर्न आवश्यक देखिन्छ । यसो गरिएको खण्डमा धेरै नेपालीहरू एनआरएनमा आउने वातावरण पनि बन्छ । अहिले सदस्यता कम हुनुमा निर्वाचन केन्द्रिकृत हुनुपनि एउटा कारण हो ।
प्रवासी नेपालीहरूले आफ्नो मातृभूमिका लागि केही गरेनन् भन्ने कुरालाई कसरी लिनुहुन्छ ?
यो कुरा एकदमै गलत हो । हामी विदेश रहरले आएका हैनौं । बाध्यताले आएका हौँ । कुनै पनि नेपाली अर्को भाषा संस्कृति, संस्कार, कानुन भएको ठाउँमा आएर दुखः गर्न चाहँदैन । यदि हाम्रै देशमा हाम्रो योग्यता अनुसारको रोजगारी, लगानीको वातावरण, स्थायी शान्ति भएको भए कुनै पनि नेपाली विदेशिने थिएन । यो सबैले बुझेकै कुरा हो । रह्यो, नेपालका लागि केही गरेन भन्ने कुरा, म ठोकूवाका साथ भन्न सक्छु, नेपाल र नेपालीका लागि प्रवासी नेपालीहरूले जति अरू कसैले गरेका छैनन् ।
नेपालका राजनीतिक दलहरूले आफ्ना राजनीतिक झन्डा बोक्न युवाहरूलाई प्रयोग मात्र गरे । देशमा विकासको लहर, रोजगारीको लहर ल्याउन सकेनन् । यसले युवाहरुमा वितृष्णा पनि भयो र, आफ्नो, परिवारको भविष्य सुरक्षित गर्न हामी विदेशिएका हौँ । अहिले देशको ५० प्रतिशत अर्थतन्त्र रेमिट्यान्सबाट चलेको छ । देशका ठुला परियोजनाहरुमा एनआरएनले लगानी भित्राउन पहल गरेको छ । भूकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भूमिका कसैले विर्सन सकेको छैन । नेपालबाट विदेश आएपछि धेरै नेपालीहरुमा मातृभूमि प्रतिको माया अझ बढेको हुन्छ । यो कुरा एउटा नेपाली भएर नेपालका लागि गरिएको हो । मैले आफ्नै पहलमा आफ्नो जन्मभूमिका लागि पनि धेरै गरेको छु । यस कारण तपाईँले लगाउनु भएको आरोपमा कुनै सत्यता छैन ।
तपाईँले उपमहासचिवको उम्मेदवारी दिइरहँदा एजेण्डा के–के छन् ?
मैले एनआरएनलाई सबैको साझा संस्था बनाउनका लागि उम्मेदवारी दिएको हुँ । एनआरएन स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक, गैर सरकारी संस्था भएकोले यसमा सबै नेपालीको प्रतिनिधित्व हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यो सँगै अब एनआरएनमा नयाँ पुस्ताको आगमन हुन आवश्यक छ । हामी २१ औँ शताब्दीमा पनि अझै पुरानै सोचबाट एनआरएनलाई चलाउन खोजिरहेका छौँ । युवाहरूले नै देश विकास र संस्थाको विकासमा योगदान दिन सक्छन् । युवाहरुमा सामूहिक एकता, सहकार्य, सद्भाव र नयाँ विचार हुन्छ । अब पुरानो एकल सोचले संस्था अघि बढ्न सक्दैन । मैले यही विचार बोकेर उम्मेदवारी दिएको हुँ । यहाँ ब्रिटिस आर्मीहरुको अधिकारका कुरा छन्, विद्यार्थीमा कलेज शुल्क, भिजा प्रक्रिया, रोजगारीका धेरै समस्या छन् । साना व्यापारी र ब्यवसायीहरुका कुरा छन् ।
बेलायतमा रहेका नेपालीहरूको समस्या भनेको कानुनी उपचार पनि हो । बेलायतमा पिआर लिनका लागि अपनाउनु पर्ने कानुनी प्रावधानका विषयमा अधिकांश नेपालीहरू अनविज्ञ छन् । उनीहरूलाई कानुनी सहायता दिनका लागि एनआरएनले सहयोग गर्नुपर्छ यसका लागि नेपाल–बेलायत सरकारसँग समन्वय र पहल गर्न मेरो भूमिका रहनेछ ।
यो सँगै एनआरएन विशुद्ध सामाजिक संस्था भएकोले यसको पारदर्शिता, मितब्यतिताका विषयमा पनि मेरो प्रतिबद्धता रहनेछ । भने, बेलायतमा रहेका विभिन्न राजनीतिक दलका भातृ सङ्गठनदेखि विशुद्ध नेपाल र नेपालीका लागि खोलिएका सामाजिक संस्थाहरूलाई एउटै संस्थामा आबद्ध गराउन पनि मेरो उम्मेदवारी हो ।
एनआरएन नेतृत्वमा कस्तो व्यक्ति आउनु पर्दछ ?
इमान्दार, सङ्गठनलाई समय दिन सक्ने, समाजसेवा भावना भएको, राजनीतिक, सामाजिक तथा कुटनीतिक सम्बन्धलाई सुदृढ गर्न सक्ने, नेपाल र नेपाली प्रति साझा विचार प्रवाह गर्न सक्ने व्यक्ति नै एनआरएनको नेतृत्वमा आउन आवश्यक छ । यो सामाजिक संस्था हो, एनआरएनमा आएर पैसा कमाउँछु भन्ने सोच लिएर आउनु भन्दा पनि विशुद्ध नेपाल र नेपालीका लागि सामाजिक काम गर्छुभन्ने सोच लिने व्यक्ति आउनुपर्दछ । अहिलेको निर्वाचनमा धेरै युवा साथीहरूले यस्तो सोच लिएर उम्मेदवारी दिनुभएको छ ।
अन्तमा, के भन्नु हुन्छ ?
एनआरएन युकेको महाधिवेशन नजिँकिँदै गर्दा हामीले योग्य र इमान्दार व्यक्तिलाई संस्थामा लैजानु पर्दछ । यसका लागि सम्पूर्ण एनआरएन सदस्यहरूले हाम्रोलाई भन्दा राम्रोलाई सहयोग गरौँ । मैले पनि उपमहासचिवमा उम्मेदवारी दिएको छु । म एनआरएनलाई सङ्गठित गर्नका लागि सबैको साझा संस्था बनाउन र सामूहिक एकताको आवाज बुलन्द गर्न प्रतिबद्ध छु । एनआरएनले बेलायतमा अहिलेसम्म गर्न नसकेको काम दुई वर्षको कार्याकालमा गर्नेछु । यहाँहरूको अमूल्य भोटको अपेक्षा गरेको छु । धन्यवाद !








