प्रदेश ६ : निजी क्षेत्रलाई सजिलो हुने कानुन बनाउँछौँ, लगानी गर्नुस् : मुख्यमन्त्री

काठमाडौं, चैत १३ । कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो सेवासुविधा दिने उनले बताए ।

‘लगानी गर्नुस्, अन्य प्रदेशको भन्दा राम्रो सेवासुविधा दिन्छौँ । लगानी नडुब्ने वातावरण बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी गर्छौं,’ नेपाल उद्योग वाणिज्य महासंघ, नयाँ पत्रिका दैनिक र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले भने ।

उद्योगधन्दा सञ्चालन गर्न आउने निजी लगानीकर्तालाई फाइदा हुने वातावरण मिलाउने प्रतिबद्धता उनले जनाए । ‘प्रदेश सरकारले लिनेभन्दा पनि उद्योगी–व्यवसायीले कमाएर लैजाने वातावरण बनाउनेछ,’ उनले भने ।

कर्णाली प्रदेशको विकासका लागि लगानीकर्ताको सूचीमा देशभित्रका उद्योगी–व्यवसायीलाई प्राथमिकतामा राखेको बताउँदै उद्योग, कलकारखाना, लगानी र उत्पादित वस्तुको सुरक्षा प्रदेशका जनताले गर्ने वातावरण बनाउने मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *