एमाले–माओवादी एकता चैत २० मा, कति सम्भव ?

काठमाडौं, चैत १२ । नेकपा(एमाले) र माओवादी केन्द्रबिचको पार्टी एकता नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन अर्थात वैशाख ९ गते गर्ने भनिएपनि तत्काल पार्टी एकता गर्ने आन्तरिक तयारी भएको बुझिएको छ ।

स्रोतका अनुसार एमाले र माओवादी चैत २० गते एकीकरण घोषणा गर्ने तयारीमा छन् । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा जानु अघि नै पार्टी एकता गर्ने चाहना राखेपछि त्यसै अनुसार तयारी तिब्र पारिएको छ । दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाँदा एकीकृत पार्टीका अध्यक्षका हैसियतले पनि प्रस्तुत हुने मनशाय देखाएपछि सोहीअनुसारको तयारी गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने तयारी छ । त्यसभन्दा अघि नै दुवै कार्यदलले काम सकेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।

भारतीय विदेश मन्त्रालयले औपचारिक निमन्त्रणा पठाएपछि मात्रै भ्रमणको टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।भारतले आन्तरिक तयारी गरे पनि औपचारिक निमन्त्रणा भने अन्तिममा पठाउने प्रचलन छ । त्यसैकारण २० गते अघि नै सकेसम्म पार्टी एकता गरेर २३ गते जाने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसबारेमा दुवै पार्टीका शीर्ष नेताहरुबीच पनि छलफल भइसकेको छ । सोहीअनुसार आइतबारबाटै प्रतिवेदन र विधान सम्बन्धि कार्यदलले बाँकी काम टुंग्याउनेगरी तीव्रता दिएका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि माओवादी केन्द्रको आन्तरिक बैठकमा अध्यक्ष प्रचण्डले भ्रमण अगावै पार्टी एकता टुंग्याउने विषयमा दुई अध्यक्षबीच भएको छलफलका बारेमा जानकारी गराएको बताए ।

त्यही भावनाअनुरू दुवै कार्यदलले काम थालेको र भ्रमण अगावै एकता गर्ने विश्वास व्यक्त गरे । उनले दुवै कार्यदलले मस्यौदा बुझाएपछि चैत १५ मा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसलाई टुंग्याइने जानकारी दिए ।

भारत भ्रमण अगावै पार्टी एकता गर्दा अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्षको रूपमा पनि प्रस्तुत हुनेछन् । दुई तिहाइ समर्थन प्राप्त र ठूलो कम्युनिस्ट पार्टी प्रमुखले राजकीय भ्रमण गर्दा त्यसको ठूलो राजनीतिक अर्थ हुने राजनीतिक विश्लेषक दाबी गर्छन् ।

दुवै कार्यदलले काम सकेर मस्यौदा अध्ययनसमेत अन्तिम चरणमा पुर्याइसकेकाले पार्टी एकतामा विलम्ब गर्नुनहुने निचोड दुवै पार्टीको भएको र भ्रमण अगावै काम टुंग्याउन खोजिएको एमाले उपमहासचिव विष्णु पौडेलको भनाइ थियो । भ्रमण अगावै पार्टी एकता गर्न सकिने गरी कार्यदलले काम टुंग्याइरहेको बताउँछन् पौडेल ।

दुवै कार्यदलले आफूले गर्नुपर्ने काम सकिसकेका र केही दिनभित्रै मस्यौदा बुझाउने तयारी  गरेका पौडेलले बताए । भ्रमण अगावै एकता हुने  पौडेल दाबी गर्छन् ।

माओवादी केन्द्रका नेता पोखरेलले पनि अहिलेसम्मको तयारी हेर्दा भ्रमणअगावै एकता सक्न कुनै कठिन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *