‘हाकिमको सेवा’मा दुरुपयोग पाँच हजार प्रहरीको खोजी

काठमाडौँ, चैत १२ । प्रहरीको दरबन्दी रेकर्डमै नभेटिएका करिब पाँच हजार प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा फिर्ता ल्याउन गृह मन्त्रालयले प्रकृया शुरु गरेको छ । रेकर्डमा नरहेका ति प्रहरीहरु कहाँ छन् भनेर गृहमन्त्रालयले खोजी गर्न थालेको हो ।

प्रहरी अधिकारी लगायत उच्च तहका ब्यक्तिहरुका घरमा प्रहरीलाई कामदारका रुपमा प्रयोग गर्ने गरिएको चर्चा यसअघि पनि हुने गरेको हो । विना रेकर्डका प्रहरी तिनै हाकिम सावको घरमा कामदार रहेको आशंका गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले घरेलु कामदारका रूपमा रहेका प्रहरीका जवान फिर्ता ल्याउन निर्देशन दिएलगत्तै गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

स्रोतका अनुसार गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेर ‘बिना रेकर्ड’ का करिब ५ हजार संख्यामा रहेका प्रहरी कहाँ–कहाँ खटिएका छन् भनेर दरबन्दी विवरण मागेको छ । गृह सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा सुरक्षाकर्मीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति नै बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले भने गृहले भनेजस्तो रेकर्ड बिनाको प्रहरी नरहेको दाबी गरेको छ । स्रोतका अनुसार ७२ हजार ७ सय ४४ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले ४ हजार ७ सय ९४ दरबन्दी रिक्त छ । १४ डीआईजी, १३ एसएसपी, १२ एसपी, ६० डीएसपी, २ सय ३७ इन्स्पेक्टर, २ सय ८७ सई, ६ सय १२ असई, १३ सय ४५ हवल्दार, १९ सय ८३ जवान र २ सय ३१ प्रहरी कार्यालय सहयोगी रिक्त छन् । रिक्त स्थान कट्टी गर्दा नेपाल प्रहरीमा अहिले ६७ हजार ९ सय ५० प्रहरी कार्यरत छन् ।

प्रहरीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्न पाइने कुनै व्यवस्था छैन, जब कि प्रहरीमा कुचिकार, स्विपर, खाना पकाउने, कपाल काट्नेजस्ता पदमा २ हजार ६ सय ४८ को दरबन्दी छ । स्रोतका अनुसार कार्यालय सहयोगीको पदमा रहेका प्रहरीलाई उच्च दर्जाका हाकिम, पूर्वमन्त्री र अन्य ‘शक्तिशाली’ले दुरुपयोग गरेको सूचना आएको छ । सर्वोच्च अदालतका २० न्यायाधीश, उच्च अदालतका एक सय ६० न्यायाधीश र जिल्ला अदालतमा कार्यरत न्यायाधीशको सुरक्षामा मात्रै करिब साढे ५ सय प्रहरी परिचालित छन् । त्यस्तै संवैधानिक निकाय लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायका अध्यक्ष र सदस्यको सुरक्षामा पनि प्रहरी परिचालित छ ।

निर्वाचनका बेला ६७ हजार प्रहरीको दरबन्दी विवरण मात्रै बुझाएकाले गृहले त्यसैलाई आधार मानेर अन्य प्रहरीको दरबन्दी खोजी गरेको हो । प्रहरी स्रोतका अनुसार भीआईपी र भीभीआईपीको सुरक्षामा खटिएका, संवैधानिक निकायको कार्यालय सुरक्षामा खटिएका र संयुक्त राष्ट्रसंघको मिसनमा रहेका प्रहरीको संख्या कटाएर त्यतिबेला सूची बुझाइएको थियो । राष्ट्रसंघको मिसनमा यूएन पुलिसका नाममा करिब डेढ सय र दंगा नियन्त्रणको हैसियतमा जाने सिपाहीदेखि हवल्दारसम्मको दुइटा डफ्फामा २ सय ६५ प्रहरी खटिएका छन् ।

प्रहरीको मौजुदा नियमअनुसार एसएसपीले एक चालक र त्यसमाथिकाले एक बडी गार्ड र एक चालक पाउँछन् । त्यस्तै पूर्वप्रहरी महानिरीक्षकले पनि बडीगार्ड, चालक र कार्यालय सहयोगीलाई आजीवन लिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *