सरकारको रोजाईमा परे ‘रमेश खरेल’

” 

काठमाडौं, चैत ११ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब दुई साता मात्र बाँकी छ । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को बन्ला भन्ने यतिबेला सर्वत्र चासो छ ।

आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरिएको थियो । तर सरकारले नयाँ आईजीपीका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नाम चयन गर्ने अन्तिम तयारीमा रहेको खबर आएको छ । अब बस्ने मन्त्रीपरिषद्ले उनको नाम टुंगो लगाउने जानकारी उच्च स्रोतबाट आएको छ ।

वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् । १ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए । यसकारण सरकारले खरेल रोजेको छ ।

उनी अरुभन्दा एकबर्ष अघि सई पदमा नै प्रहरी बुझिसकेका साथै अरुभन्दा अब्बल दर्जाको कार्य कुशलता भएका कारण खरेललाई रोजिएको छ । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका थिए । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् । उनी भने चर्चा मै आउन सकेनन् ।

रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए । तर पछि उनलाई पछाडी पारियो । २०७५ मा उनी अवकाश पाएपछि पालो आउनेछ सर्वेन्द्र खनालको । खनाललेपनि छोटो समय नेतृत्व पाउनेछन् ।

नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने भएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *