“बौद्धिक उपन्यास “”सुवर्णलता”” को कृति अन्तरसंवाद कार्यक्रम सम्पन्न”

काठमाडौँ । मालिका केशरीद्वारा लिखित उपन्यास “”सुवर्णलता”” को एक भव्य कार्यक्रमकाबिच कृति अन्तरसंवाद सम्पन्न भएको छ । उक्त कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको कृतिको बारेमा बोल्दै साहित्यकार न्यौपानेले भने, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल भएको छ । उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न सक्छ, तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिँदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ ।

उनले उपन्यासकी नायिका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारणा व्यक्त गरे ।’

त्यस्तै डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँध्ने आर्कषण रहेको बताए । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् । उनले उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।

प्रा. राम लोहनीका अनुसार, ‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठक जुन कथामा प्रवाहित भइरहेका हुन्छन् । उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा विचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नायिकाको वार्तालाप र प्रेम प्रस्ताव अत्यन्त मार्मिक छ । भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विश्वास उनले व्यक्त गरे ।’

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए । आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सुवर्णलता सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *