(अपडेट) सिरहाको सुनचाँदि पसलमा बम विष्फोट, आठजना घाइते

लहान, चैत ९ । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल)लाई लक्षित गरी आज अपराह्न प्रेसर कुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।

अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उनका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुङ्गा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उनकी बहिनी विनिता यादव घाइते भएका हुन् ।

घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

यसअघि गत फागुनमा पनि लहानका छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *