सानेपामा कांग्रेस नेताहरुको महासंग्राम सुरु

काठमाडौँ, चैत ९ । निर्वाचन परिणामको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । समीक्षा बैठकका लागि नेताहरुले पटक पटक आग्रह गरे पनि निर्वाचन सकिएको तीन महिनापछि सभापति शेरबहादुर देउवाले बैठक आव्हन गरेका छन् ।

निरन्तरको आग्रह र दबाबपछि बस्न लागेको बैठकमा विशेष गरी दुई पक्षबीच खुलेर वैचारिक महासंग्राम चल्ने निश्चित छ । अलग अलग गुट चलाईरहेका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला एकजुट भएर सभापति शेरबहादुर देउवामाथि हमला गर्न तयार भएका छन् भने देउवा पक्ष पनि आफ्नो बचाउका लागि तम्तयार भएर बैठकमा उपस्थित भएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्वाचनमा कांग्रेस हार्नुको दोष सभापति शेरबहादुर देउवामाथि थुपार्दै आएको छ भने सभापति देउवा हारको जिम्मा आफू एक्लैले नलिने बताउँदै आएका छन् । पौडेल र सिटौला पक्षले सभापतिले नैतिक जिम्मेवारी दिँदै नेतृत्व छाड्नु पर्ने सम्मको अडान लिएका छन् । तर, सभापतिले नेतृत्व छाड्नुपर्ने बहस चलिरहेकै बेला देउवा भने भारी मतका साथ संसदीय दलको नेतामा निर्वाचित भएर आफुलाई पार्टीमा अझ बलियो भएको सावित गरिसकेका छन् ।

यो बैठकका लागि देउवा, पौडेल र सिटौला पक्षले छुट्टाछुट्टै छलफल गरी योजना बनाएका छन् । यो बैठकमै महाधिवेशनसम्मको कुरा आउन सक्ने एक नेताले बताए । सबै पक्षका नेताहरुका फरक फरक विचार छन् । उनीहरुले ‘जे हुन्छ अब बैठकमै हुन्छ’ भनिरहेका छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा प्रस्तुत हुने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘हामीहरु छलफलमै छौं, सोही अनुसार केन्द्रीय समिति बैठकमा प्रस्तुत हुन्छौं ।’

संस्थापन पक्ष भने केन्द्रीय कार्यसमिति बैठकबाट महासमितिको मिति तोक्ने तयारीमा छ । महासमितिको मुख्य एजेन्डा विधान संशोधन हुनेछ ।

काँग्रेसको विधान पुरानै सांगठनिक संरचनामा चलिरहेको छ । यसलाई संघीय संरचनामा ढाल्न बाँकी छ ।

प्रतिनिधिसभाको १ सय ६५, प्रदेशसभाको ३ सय ३० र स्थानीय तहको ७ सय ५३ सिट तथा जिल्ला ७७ पुगेको छ । काँग्रेसको संरचना भने अहिले पनि ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र पुरानै गाउँ–नगरपालिकाअनुसार चलिरहेको छ ।

बैठकमा पदाधिकारी बढाउने वा नबढाउने भन्ने विषयमा पनि चर्को विवाद उठ्ने देखिएको छ । चुनावका बेलामा पार्टीमा फर्किएका विजयकुमार गच्छदार उपसभापति खाने दाउमा छन् । तर, यसअघि नै देउवाले उपसभापति पद धेरै नेताहरुलाई बाँडिसकेका छन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह, खुमबहादुर खड्का लगायतका नेताहरु उपसभापति पदको आकांक्षी हुन् । देउवाले उनीहरु सबैलाई कसरी मिलाएर लैजाने हुन् हेर्न बाँकी नै छ । अहिलेसम्म पद बाँडफाँड हुन नसक्दा अरु आकांक्षी थपिएका छन् ।

केन्द्रीय समिति बैठक केही दिन लम्बिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *