कांग्रेस केन्द्रीय समिति बैठक : देउवाको आलोचना गर्ने पौडेल पक्षको तयारी

काठमाडौं, चैत ९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सुरु हुँदैछ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि सुरु हुने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीले ब्यहोर्नुपरेको पराजयबारे औपचारिक रुपमा छलफल सुरु हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

चुनावपछि केन्द्रीय कार्यसमितिको बैठक यसअघि चार पटक बसे पनि चुनावी समिक्षा र पार्टीको अवको रणनीतिबारे आधिकारिक रुपमा छलफल नभएको र शुक्रबारदेखि छलफल सुरु हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वका कारण पार्टीले पराजय भोग्नुपरेको, महाधिवेशन भएको २ वर्ष बितिसक्दा पनि अहिलेसम्म पदाधिकारी मनोनयन हुन नसकेको, सभापति देउवाले आफुपक्षका नेतालाईं मात्र काखि च्यापेको र अर्को पक्षलाई विभेद गरेको लगायत विषयमा सभापति देउवाको आलोचना गर्ने तयारी गरेको छ ।

बैठकमा संघीय संरचना अनुसार पार्टीको संगठनलाई अगाडि बढाउन विधान संशोधन गर्ने विषयमा पनि कुराकानी हुनेछ । सबै केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने भएकाले बैठक तीन चार दिन लम्बिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *