चितवनमा १९८ विद्यार्थी परीक्षा दिनबाट बञ्चित

भरतपुर, चैत ८ । चितवनमा यस वर्षको एसईईमा नियमित, एक्जाम्टेड र प्राविधिक गरी १२ हजार १५० जना विद्यार्थी सहभागी भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार यस पटकको एसईईमा चितवनका ९५ सामुदायिक र १२० संस्थागत विद्यालयले सहभागी जनाएका छन् ।

त्यस्तै, ५ प्राविधिक विद्यालय र चितवन माविले चलाएको १ खुला विद्यालयले पनि एसईईमा सहभागीता जनाए । यस वर्ष नियमिततर्फ प्राविधिकसहित ११ हजार ९५३ जनाले परीक्षा दिएका छन् । गत वर्ष नियमिततर्फ ११ हजार ८२८ विद्यार्थीले परीक्षा दिएका थिए । १८९ जना प्राविधिक धारका विद्यार्थी र १९७ जना एक्जाम्टेडका विद्यार्थी पनि एसईई परीक्षामा सहभागी भएका हुन् ।

यस वर्ष जिल्लामा ३ वटा एसईई केन्द्र थपिएको छ । गएको वर्ष चितवनमा ३९ वटा केन्द्रमात्र थिए । एक्जाम्टेड र प्राविधिक धारका ३८६ जना विद्यार्थीले भरतपुरको नारायणी नमुना मावि केन्द्र ‘ख’बाट एसईई परीक्षा दिने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी भूमिलाल सुवेदीले बताए । यस वर्ष विश्वप्रकाश मावि मंगलपुर, नारायणी मावि भरतपुर र भीमोदय मावि पदमपुरमा केन्द्र थपिएको छ । स्थानीय तहमा मध्येनजर गर्दै सबैलाई पायक पर्ने ठाउँमा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी गैरेले बताए ।

भरतपुर महानगरपालिकामा २२, राप्ती नगरपालिकामा ३, खैरहनी नगरपालिकामा ४, रत्ननगर नगरपालिकामा ७, कालिका नगरपालिकामा २, माडी नगरपालिकामा २ र इच्छाकामना गाउँपालिकामा २ केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । चितवनका ४२ वटा केन्द्रमा ६० जना सहायक केन्द्राध्यक्ष, ४९६ निरीक्षक, २२८ परिचर खटिएका छन् ।

‘परीक्षाभर चितवनमा ६३० सुरक्षाकर्मी खटाइएको छ । प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी तैनाथ छन्’ जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरेले भने, ‘बिहान ८ बजेबाट अति सौहार्द वातावरणमा परीक्षा सञ्चालन हुँदैछ ।’

१९८ जना परीक्षाबाट वञ्चित
यस वर्ष १० कक्षामा भर्ना भएर पनि विद्यालयमा हाजिर नपुगेका १९८ जनालाई एसईई परीक्षामा सहभागी नगराइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १० कक्षामा भर्ना भएपछि विद्यालयमा ७५ प्रतिशत हाजिरी हुनुपर्छ । चितवनका १९८ जनाको हाजिर पुगेन । उनीहरुलाई परीक्षामा सहभागी नगराइएको परीक्षा शाखाका नासु रघुनाथ अधिकारीले बताए ।

चार दृष्टिविहीन पनि सहभागी
चितवनबाट ४ दृष्टिविहीनले पनि सहयोगीमार्फत एसईई परीक्षा दिनेछन् । झुवानी मावीमा ३ र नारायणी नमुना माविका १ गरी ४ दृष्टिविहीनले एसईई परीक्षा दिँदैछन् । २ जनाले भरतपुर कारागारबाट एसईई परीक्षा दिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एक बौद्धिक अपाङ्गताले पनि एसईई परीक्षा दिने भएका छन् ।

नियमित अनुगमन
जिल्ला शिक्षा कार्यालयले एसईई परीक्षा भएका सबै केन्द्रमा नियमित अनुगमन गर्ने भएको छ । यसबाहेक परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला परीक्षा समन्वय समिति, उप जिल्ला शिक्षा अधिकृत, शिक्षा अधिकृत, स्रोत व्यक्तिहरु, पेशागत संस्थाका प्रमुखहरुले अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

‘हरेक दिन सबै केन्द्रमा नियमित अनुगमन हुन्छ, छुट्टाछुटै टोली अनुगमनमा हिँड्छन् । कतै हुलहुज्जत हुन दिने छैनौँ’ जिल्ला शिक्षा अधिकारी गैरेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *