‘पेटमा लात्तैलात्ताले हाने अनि बलात्कार गरे’

काठमाडौं, चैत ७  । किशोरावस्थाको सुरुवाति उमेरमा रहेका रोहिंग्या बालिका, जो म्यानमारको रखाइन प्रान्तमा भड्किएको हिंसाबाट ज्यान जोगाउन बंगलादेश आएका छन् । उनीहरुलाई बाध्यात्मक रुपमा यौन व्यवसायमा संलग्न गराएको पाइएको छ ।

यौनको खोजीमा रहेका विदेशी, जो बंगलादेशमा छन् उनीहरुको सहज विकल्प बन्ने गरेका छन् रोहिंग्या शरणार्थी शिविरमा रहेका किशोरी । एउटा डरको भयानक बाटो तय गरेका रोहिंग्या बालिका वा किशोरी अहिले त्यो भन्दा फरक तर उस्तै भयानक डरको शिकार बनेका छन् ।

अन्वारा १४ वर्षकी भइन् । परिवारका सदस्य हिंसामा गुमाएपछि म्यानमार छोडेर बंगलादेश आएकी अन्वाराले बाटोमा सहयोगका लागि हात फैलाएकी थिइन् । केही महिलाले उनको हात थामे तर लगेर गम्भीर अन्धकारमा धकेलिदिए ।

‘भ्यानमा आएका महिलाले मलाई सँगै जाने हो भनेर सोधे । भरको खाँचो थियो उनीहरुको साथ लागेँ । उनीहरुले नयाँ जीवनको बाटो देखाउने बताए ।’ उनले भिनन् । उनलाई ती महिलाले नजिकैको कक्स बजारमा लगे ।

‘यहाँ ल्याए लगतै उनीहरुले मेरो नजिक दुई केटा पठाए । उनीहरुले मसँग यौन सम्पर्क गर्न प्रयास गरे । नमानेपछि पेटमा लात्ताले हिकार्ए । बलात्कार गरे । मलाई यौन सम्पर्क गर्ने वा यो व्यवसायमा संलग्न हुने मन थिएन । तर उनीहरुले बाध्य बनाए ।’

बेचबिखन र यौन हिंसाको कथाको रक्सीसँग जोडिएको छ । शरणार्थी शिविर नजिकै रहेका रक्सी पसल हुँदै बालिका, किशोरी तथा महिलाको बेचबिखन हुने गरेको छ । उनीहरुलाई शरणार्थी शिविरबाट निकालेर श्रम तथा यौन बजारमा लगिने गरेको छ ।

यसबाट पीडित हुनेमा मुख्य गरी महिला र बालबालिका छन् ।

महिला तथा बालबालिकाको तस्करीमा गिरोह नै संलग्न छ । उनीहरुले शिविरमा आएर विदेश वा राजधानी ढाकामा मेड, होडल स्टाफ वा भान्छामा काम गर्ने व्यक्तिका रुपमा काम लगाइदिने बताउने गरेको शिविरमा रहेका रोहिंग्या बालबालिका तथा उनीहरुका अभिभावकले बताए ।

शिविर अस्तव्यस्त छ । अराजक छ । यसले बालिकालाई यौन बजारमा ल्याउन मुख्य भूमिका खेलेको छ । बेचबिखनमा संलग्न गिरोहले आशको खोजीमा रहेका परिवारलाई जागिर तथा सुन्दर जीवनको सपना देखाएर फकाउने गरेका छन् ।

मासुदा, जो मात्रै १४ वर्षकी छन् र अहिले एक स्थानीय सहयोगी संस्थाको आश्रयमा छिन्, उनले आफू कसरी बेचिएँ भन्ने सुनाइन् ।

‘ममाथि के हुँदैछ भन्ने मलाई थाहा थियो । महिला जसले मलाई जागिरको प्रस्ताव गरिन्, उनी बालिकालाई यौन व्यवसायमा लगाउने व्यक्ति हुन् भन्ने सबैलाई थाहा थियो । उनी पनि रोहिंग्या हुन् र लामो समयदेखि यहाँ बस्दै आएकी छन् । थाहा थियो तर हामीसँग विकल्प पनि त थिएन । मेरा लागि यो बाहेक केही थिएन यहाँ ।’

‘मेरो परिवार बेपत्ता, पैसा थिएन । म्यानमारमै ममाथि बलात्कार भयो । म जंगलमा बहिनी र दाइसँग खेल्थेँ । तर अहिले खेल्न बिर्सिसकेँ ।’
अभिभावकसँग पनि विकल्प छैन । सम्भावना भन्दा डर धेरै छ भन्ने थाहा पाएर पनि उनीहरु आफ्ना छोरोलाई पठाउन बाध्य छन् ।

केही अभिभावकमा फेरि सन्तानलाई देख्न नपाइने हो कि भन्ने चिन्ता पनि छ । तर केहीमा भने छोराछोरीले राम्रो जीवन पाउने भए भन्ने भ्रमको खुशी पनि छ ।

सुन्दर जीवनको सपना देखाउनेसँग आफ्नी छोरी पठाएकी एक आमाले भनिन्, ‘होला कहिँ तर यहाँ भन्दा राम्रै होला । शिविरमा भन्दा बाहिर जीवन सहज होला ।’ तर उनलाई थाहा छैन, कसले लगेको हो र कहाँ लगेको हो ?

विदेशीको रुपमा प्रस्तुत हुने र यौनको खोजी गर्नेको विकल्पको रुपमा रोहिंग्या बालिका तथा किशोरी पर्ने गरेको अध्ययनले देखाएको छ । यहाँ रहेका साना होटल, कटेज तथा मोटेलका मालिकसँग यौनका लागि प्रस्ताव गर्ने जो कोहीले पनि रोहिंग्या किशोरीको साथ पाउने गरेका छन् ।

त्यसको व्यवस्थापन गर्ने व्यक्तिको नम्बर दिएपछि होटलका मालिकले यौन सम्पर्कका लागि कोठाको व्यवस्था गरिदिन्छन्, नम्बरवाला व्यक्तिले रोहिंग्या बालिका वा किशोरीको ।

हामीले प्रहरीले दिएको जानकारी अनुसार बालिका तथा किशोरीको व्यवस्था मिलाउने व्यक्तिसँग विदेशी व्यक्तिका लागि कम उमेरकी बालिका विशेष गरी रोहिंग्या पाइन्छ भनेर सोध्यौँ ।

लगतै ती व्यक्तिले भने, ‘हामीसँग धेरै कम उमेरका किशोरी छन् । तर तपाईं किन रोहिंग्या नै चाहनु हुन्छ ? उनीहरु फोहोरी छन् ।’

कक्स बजारको यौन व्यवसायमा रोहिंग्या किशोरीलाई कम उपयुक्त र थोरै पैसामा उपलब्ध हुने यौन व्यवसायीको रुपमा लिने गरिन्छ । बालिका तथा किशोरी यौनका लागि व्यवस्था मिलाउने धेरै व्यक्ति कक्समा कार्यरत छन् ।

हामीले अनुसन्धानको क्रममा तत्काल केटी चाहिएको र त्यसका लागि जति पनि मूल्य तिर्न तयार रहेको बताए पछि १३ देखि १७ वर्षसम्मका भनिएका धेरै बालिका तथा किशोरीको तस्बिर देखाए उनीहरुले । उनीहरुसँग देखाएका किशोरी मन नपरेमा अरु पनि विकल्प थिए ।

उनीहरुले तस्बिर देखाएका धेरै बालिका उनीहरुकै घरमा बस्दै आएका थिए । यौन व्यवसायका लागि ग्राहकसँग नभएका बेला रोहिंग्या किशोरीले घरको काम गर्नु पर्छ ।

बंगलादेशमा यौन बजारमा बालिका, किशोरी तथा महिला ल्याउनका लागि अनलाईन नेटवर्कमा पनि सक्रिय छ ।

रोहिंग्या संकटले बंगलादेशमा यौन व्यवसायलाई उद्योगको रुप दिएको होइन । तर यसले यौन बजारमा बालिका तथा महिला पुग्ने क्रम बढेको छ । यौनकर्मीको मूल्य घटेको छ । उनीहरुबाट हुने सेवाको माग झन क्रुर बन्दै गएको छ ।

यो लेखमा आएका पात्रको नाम उनीहरुको सुरक्षाका दृष्टिले परिवर्तन गरिएको छ ।

(यो बिबिसीले बंगलादेशमा कार्यरत गैर नाफामुखि एक संस्थासँगको सहकार्यमा गरेको अनुसन्धानात्मक रिपोर्टिङको अनुवादित अंश हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *