खानेपानी मन्त्री भन्छिन् ‘भैरवनाथ गणको २७ महिने बसाई अनुभवको भर्ती केन्द्र’

माओवादी केन्द्रकी नेतृ बीना मगरको राजनीतिक यात्रा कहिल्लै सुखद भएन । ५ कक्षा पढ्दादेखि १० वर्षे सशस्त्र जनयुद्धमा होमिएकी बीनाले २७ महिना नेपाली सेनाको भैरवनाथ गणको चिसो छिँडीमा ब्यतित गरेकी छन् । जसलाई उनी यो २७ महिनालाई कठिन दिनका रूपमा लिन्छिन । जनयुद्ध ताका नै पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी बीनाले प्रकाशसँगको सामिप्यता पनि चाँडै टुङ्ग्याउनु पर्‍यो ।

गत मङ्सिरमा घरमा सुतिरहेकै अवस्थामा श्रीमानको ह्दयघातका कारण अकस्मात मृत्यु भएपछि विछिप्त भएकी बीना अझै पनि त्यो दिनलाई भुल्न सकिरहेकी छैनन् । प्रतिनिधिसभा निर्वाचनको चटारोमा आइपरेको यो घटना उनको जीवनकै डरलाग्दो र अकल्पनिय घटना हो ।

कञ्चनपुरको कालीका सुकुम्बासी बस्तीमा जन्मिएकी बीना यति बेला प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर बाम गठबन्धनको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री बन्न सफल भएकी छिन् । उनै बीना मगरसँग राजनीतिक जीवनका उतार चढावलाई केलाउने प्रयास गरिएको छ । यो अन्तर्वार्ता हामीले देश सञ्चारको भिडियोबाट साभार गरी सम्पादन गरेर प्रस्तुत गरेका छौँ ।

भैरवनाथ गणदेखि सिहंदरबार सम्मको दुरी अहिले कस्तो छ ?

मेरो जीवन आफैँमा सहज ढङ्गले अगाडी बढेन, धेरै उतारचढावहरू आए । नेपाली सेनाको भैरवनाथ गणको बसाई कहालीलाग्दो घटनाक्रम हो । दश वर्षे जनयुद्धमा सर्वहारा हकहितको निम्ति लड्ने सङ्घर्षको एउटा महत्त्वपूर्ण पल हो ।

मैले भैरवनाथमा २७ महिना बेपत्ता जीवन बिताएकी थिएँ, कृष्ण बिसी, हिमाल शर्मासँगै अन्य विद्यार्थी लगायतको टिम थियो । भैरवनाथ छिर्ने कोहीपनि बाँचेर निस्किँदैन भन्ने त्यहाँका आर्मीहरूको कथन हुन्थ्यो ।

बेपत्ता जीवनमा कुनै पनि पलमा मैले सोच्न सकिन की म पुनः बाहिरी संसारमा फर्कन पाउनेछु, अर्थात् अहिलेको समाज निर्माणमा मेरोपनि योगदान रहनेछ भन्ने कल्पना पनि भएन । २७ महिना शून्य मानसिकतामा, बाहिरी जीवन, हतकडी मुक्त जीवन, पेटभरि खान पाउँदाको जीवन समेतपनि कल्पना नगर्ने क्षण शब्दमा व्यक्त गर्न सक्दिन ।

हामीले जनयुद्ध गर्दा ‘मृत्यु वा मुक्ति’ भनेर लागेका थियौँ । मेरो अङगमा कपडा नराखी ब्रा र पेन्टीमा मात्र राखेर चरम यातना दिइएको थियो । शारीरिक सँगै कठोर मानसिक यातना हुन्थ्यो । पुरुषलाई भन्दा महिलालाई अझ धेरै यातना हुन्थ्यो । यो मेरो जीवनको सबैभन्दा कठोर पल थियो ।

अहिले मन्त्री भइरहँदा यो घटनालाई कसरी लिनु भएको छ ?

लडाइको मोर्चामा चरम यातना भोगिरहँदा सधैँ मेरो एउटै बुझाइ थियो, हामी राज्यसँग मुक्तिको लागि लडिरहेका छौँ । निरङ्कुश शासन देशबाट त हट्यो तर, ब्यारेकमा अझैपनि यथावत् छ । मलाई अझैपनि अनुभूति छ, एउटा क्याप्टेनले पालेको कुकुरको बच्चा हराउँदा सिपाहीले दिनभरि यातना भोग्नु परेको थियो । त्यसैले त्यहाँको जहाँनीया शासन अन्त्य गर्नु जरुरी छ । र, हाम्रो देशको सुरक्षाकर्मीहरूलाई देशभक्ति र जिम्मेवार बनाउन आवश्यक छ ।

तपाईँ कक्षा ५ मा पढ्दा कलाकारको रूपमा जनयुद्ध र राजनीतिमा प्रवेश गर्नु भएको अहिले मन्त्री हुँदा कस्तो लागि रहेछ ?

पारिवारिक रूपमा मेरो बुवा कञ्चनपुर जिल्लाको संस्थापक सदस्य हुनुहुन्थ्यो । पाँच कक्षा हुँदा परीक्षा सकाएर बसेकी थिएँ । कञ्चनपुर जिल्लामा पार्टीले ‘वेल्ट अभियान १’ सञ्चालन गरेको थियो र, वेल्ट अभियान अन्तर्गत म बाल कलाकार रूपमा नाच्न जान्थे ।

पछि अखिल क्रान्तिकारी हुँदै महिला सङ्गठनको नेतृत्व पनि गरेँ । त्यसपछि पार्टी कै काम र जनयुद्धमा होलटाइम लागियो । अहिले त्यही पृष्ठभूमिका कारण पनि जनताले मलाई यो ठाउँमा ल्याउनु भएको जस्तो लाग्छ ।

म जुन स्थानमा छु, त्यहाँसम्म ल्याउनका निम्ति सँगै बेपत्ता हुनु भएका ती योद्धा साथीहरूलाई सम्झन चाहन्छु, जो कतिपय मेरै काखबाट खोसिएर लगिए, जसले देशका निम्ति, जनताका निम्ति बलिदानको कोटा चुक्ता गर्नुभयो । धेरै साथीहरूका अझैपनि शिवपुरीको जङ्गलमा अवशेषहरु खोज्ने क्रममा भेटिन सक्ला । ती साथीहरूलाई सम्झन चाहन्छु ।

जनताको निम्ति लाग्न प्रेरित गर्ने प्रकाश जी, अहिले हाम्रो सामु हुनुहुन्न, आज म धेरै भन्दा धेरैै उहाँलाई मिस गरिरहेकी छु । यो ठाउँमा आइरहँदा कञ्चनपुर क्षेत्र नं. १ का जनता र साथीहरूले खेलेको भूमिका ७ नं. प्रदेशले खेलेको भूमिका र पार्टीका शिर्षस्थ नेताहरूले खेलेको भूमिकालाई सदैव सम्झिरहनेछु ।

भैरवनाथ गणसँगै जीवनका कस्ता घटनाले तपाईँलाई अघि बढ्न प्रेरणा दिन्छ ?

त्यतिखेर म जन्मिएको ठाउँ जुन अत्यन्त विकट थियो । जहाँ पटकपटक सीमा अतिक्रमण हुन्थ्यो । जनताले राष्ट्रियताको लडाई पटकपटक लडिरहनु पर्दथ्यो, त्यसले म भित्र राष्ट्रिय भाव आउँथ्यो । म जन्मिएको विकट ठाउँमा हस्पिटलको पहुँच थिएन । पुलिस प्रशासनको पहुँच थिएन । थुप्रै कठिनाइहरू हामीले झेलका थियौँ । त्यही परिवेशले मलाई माओवादी बन्न र युद्धमा होमिन प्रेरित गर्याे ।

राजनीति बुभ्दै गएपछि आफ्नो भूमिकालाई सशक्त र मजबुत बनाउनुपर्छ, हामीले देश र जनताको निम्ति बलिदान दिन कोटा चुक्ता गर्नुपर्छ भन्ने विषयले पनि धेरै प्रेरित गर्यो । भैरवनाथ गणसम्म आइपुग्दा त्यहाँ भोगेका यातनाबाट नयाँ अनुभव गर्न पाएँ । भैरवनाथको बसाइलाई म अनुभवको भर्ती केन्द्रका रूपमा लिन्छु । भलै त्यो घटना र यातनाले मेरो जीवनमा शारीरिक तथा मानसिक कठिनाइ दियो ।

कञ्चनपुरबाट काठमाडौँ पढ्न भनेर आउनु भएको थियो की, राजनीति गर्न आउनु भएको थियो ?

म एसएलसी दिन भनेर घर फर्किएको थिए । साथीहरू पढाइलाई छाडेरै जनयुद्धमा लाग्नु भएको थियो । मलाई चैँ साथीहरूले जसरी पनि एसएलसी दिनुपर्छ भनेर प्रेरणा दिनुभयो । एसएलसी पास गरेपछि काठमाडौँ आएँ र, होलटाइमर भएँ । घरपरिवारले मेरो बिहे गरिदिनुपर्छ भनेर सोच बनाउनु भएको थियो । तर, मेरो सोच व्यक्तिगत विषयलाई साइड लगाएरै आन्दोलनमा होमिनु पर्छ भन्ने थियो ।

२०७० सालको चुनावमा तपाईँले हार्नु भयो त्यसको कारण के थियो ?

हार्ने धेरै आधार थिएन तर, एसएलसी दिए पश्चात् काठमाडौँ केन्द्रमा रहेर काम गरेँ । त्यसले मेरो गाउँ सँगको सम्बन्ध टुटिसकेको थियो । साथीभाइले कञ्चनपुर बोलाउँदा मेरा सबै च्यानल टुटिसकेका थिए । त्यसैले जनतासँग जोडिने समय पाइनँ । तथापि, हामी धेरै मतान्तरले हारेका भने होइनौँ ।

र, त्यसपछि मलाई अब जनताका माझ कसरी भिज्ने, कसरी जनताको माझ आफूलाई सक्षम साबित गर्ने, कसरी जनतामा लोकप्रियता कायम गर्न सकिन्छ ?  महिलाहरूका समस्या के छन् ? भन्ने कुरा बुझायाे ।

म महिलालार्इ राजनीतिक अधिकार प्राप्तिकाे लडार्इमा अाउन प्रेरित हाेस् भनेर तीन महिनाको बच्चा च्यापेर पार्टीको कार्यक्रमहरूमा प्रस्तुत हुन्थेँ । अहिले कञ्चनपुर जिल्लाको पहिलो प्रतिनिधि महिला हुँ । मलाई त्यहाँको विकासको निम्ति युवा नेतृत्व चयन गर्नुपर्छ भन्ने छ ।

तपाईँ युवा नेतृत्वको रूपमा अगाडि आउँदा तपाइबाट युवाहरूले गरेको अपेक्षा पुरा हुन्छ त ?

मैले जुन मन्त्रालय अहिले सम्हाली राखेकी छु, म आफैँमा असाध्यै खुसी छु । सुरुमा त्यति धेरै बुझिनँ, जब यहाँ आएँ, यहाँका कर्मचारीहरूले जसरी व्रिफिङ गरे, त्यसले मलाई यो मन्त्रालय सम्हालिरहँदा, काम गर्दा मैले आर्शिवाद पाउने रहेछु भन्ने लागेको छ ।

यो प्रत्यक्ष जनतासँग जोडिने मन्त्रालय पनि हो । म यसको विकासको लागि मेरो हरेक क्षमता प्रयोग गर्नेछु, हरेक अवसर प्रयोग गर्नेछु । हरेक फोरमहरूबाट युवाहरूका, बुद्धिजीवीका, जनताका सुझावहरूलाई केन्द्रित गरेर अघि बढ्नेछु ।

गत मङ्सिर २ गतेको अकल्पनिय पारिवारिक घटनालाई तपाईँले कसरी लिनुभयो ?

भैरवनाथ गणबाट बाँचिसके पश्चात् २७ महिनापछि आँखाको पट्टी र पछाडि बाँधिएको हतकडी खोलियो । त्यसपछि मलाई अब मेरो जीवनमा यो भन्दा दुखःकाे क्षण कहिल्लै आउने छैन भन्ने लाग्थ्यो । बाँकी जीवनहरू सुख र खुसीले बित्नेछ भन्ने सोचेकी थिएँ । तर, जीवन त्यसो होइन रहेछ । भैरवनाथ गण भन्दा निक्कै भयावह घटना आयो ।

अहिले मलाई के लाग्छ भने, जीवन त्यति कमजोर पनि होइन । हामी त्यति कमजोर पनि हुनुहुन्न । जुन जिम्मेवारी, जुन दायित्व, हामीले वहन गर्नुपर्ने हो, त्यसलाई वहन गर्न कमजोर हुनुहुन्न । अहिले म जीवनको परिभाषा नै फेर्न बाध्य भएको छु । सायद अझै ठुला घटना र चुनौतीहरू होलान् जसलाई मैले सामना गरेर अगाडी बढ्न छ ।

प्रकाश दाहाललाई तपाईँले सम्झिने र उहाँबाट पाउने सबैभन्दा ठुलो प्रेरणा के हो ?

हाम्रो जीवनमा निक्कै उतारचढावहरू भए । माओवादी जनयुद्धमा होमिने क्रममा देश र जनताका लागि आफूलाई समर्पित गरेँ, त्यो स्प्रीटलाई कुनै पनि हालतमा घटाउनु हुँदैन, जीवनमा उतारचढाव आउँछ, कमीकमजोरी हुन्छ तर, कुनै पनि हालतमा राजनीति र जनताको सेवाबाट पछि हट्नु हुँदैन भन्ने उहाँको आशय हुन्थ्यो । त्यो आशय नै मेरो जीवनमा अन्तिम क्षणसम्म प्रेरणा हुनेछ ।

मन्त्रालय सम्हालिसकेपछि देश र जनताप्रति कत्तिको संवेदनशील बनाएको छ ?

निकै संवेदनशील बनाएको छ र, उत्तिकै उत्साहित बनाएको छ । मैले जुन ठाउँमा बसेर जिम्मेवारी सम्हालिरहेकी छु, जनतासँग प्रत्यक्ष रूपमा जोडिन आएकी छु । मन्त्रालयले हिजो जसरी जनताको समस्याहरूलाई काम गर्नका निम्ति भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो भूमिका नपुगेको अवस्था छ । मेरो चुनौती भनेको जनताका नैसर्गिक अधिकारलाई जसरी भए पनि पुरा गर्नुपर्छ । त्यसका लागि म सदैव काम गर्नेछु ।

अन्तमा, धेरैले जनताको भन्दा शक्तिका नजिक रहेर काम गर्नुभयो भन्ने आरोप लगाउँदै आएका छन्, कसरी व्याख्या गर्नुहुन्छ ?

मृत्युको मुखबाट जब मैले राजनीतिक जीवन सुरु गरेँ, त्यत्तिबेला यसरी सरकारमा जाउँला, सुख सुविधा लिउँला भनेर परिकल्पना गरेको थिइन । मलाई हामी युवा पुस्ताले पनि देश र जनताका लागि बलिदान दिनुपर्छ, जनताका लागि मर्नुपर्छ भन्ने मात्र थियो र, हाम्रो स्कूलिङ पनि त्यस्तै हुन्थ्यो ।

त्यो स्कूलिङबाट आएकोले मेरो बारेमा आएका ती विषयहरूको खण्डन गर्न म जरुरी ठान्दिन । यसलाई व्यवहारले पुष्टि गर्ने कुरा हो, जुन म गरेर देखाउँछु । मन्त्रालयमा काम गरिरहँदा यहाँहरूको समर्थन र सुझावको अपेक्षा गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *