गृहमन्त्रीको गतिबिधिले प्रहरीमा असन्तुष्टि !

काठमाडौं, चैत ६ । गृहमन्त्री रामबहादुर थापाको गतिबिधिले प्रहरी संगठनमा असन्तुष्टि बढेको छ । कैलालीको टिकापुर घटनाका आरोपी रेशम चौधरीलाई सरकारले सांसद पदको सपथ ग्रहण गराउने तयारी गरेको र गृहमन्त्री रामबहादुर थापाले जुश पिलाएर अनशन तोडेको घटनाले प्रहरीमा असन्तुष्टि बढेको हो ।

टिकापुर घटनाका दोषीहरुलाई कारबाही गर्ने पक्षमा प्रहरी संगठन भएपनि राजनीतिक नेतृत्वले आरोपीहरुलाई सफाई दिन पहल गरेपछि प्रहरीमा असन्तुष्टि बढेको हो । प्रहरीलाई ज्युँदै जलाउनेहरुप्रति दलका नेताहरुले दया देखाएर घटनालाई ढाकछोप गर्न खोजिएको एक प्रहरी अधिकृतले गुनासो गरे ।

ति प्रहरी अधिकृतका अनुसार टिकापुर घटनाबारे प्रहरीले गहिरो अनुसन्धान गरेको छ र प्रमाणहरु जुटाएको छ । सप्रमाण अदालतमा पेश गरिएको घटनालाई राजनीतिकरण गर्न खोजिए त्यो दुर्भाग्यपुर्ण हुने उनले बताए ।

२०७३ भदौमा टिकापुरमा हत्या गरिएका सात जना प्रहरी र एक नाबालकको हत्या आरोपमा रेशम चौधरी सहित केही थारु नेता विरुद्ध अदालतमा मुद्दा बिचाराधिन छ । लामो समय फरार रहेका चौधरीले कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित भएको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे पछि अदालतको आदेशमा पुर्पक्षको लागी कैलाली जिल्ला कारागारमा रहेका चौधरी सहितका आरोपीहरुले रेशम चौधरीलाई सांसद पदको सपथ ग्रहण गराइनुपर्ने लगायतका माग राखी अनशन सुरु गरेका थिए । अनशनकारीहरुको स्वास्थ्य अवस्था विग्रपछि उनीहरु अस्पताल भर्ना भएका छन् । उपचारका क्रममा वीर अस्पताल रहेका रेशम चौधरीलाई केही दिन अघि गृहमन्त्री थापाले जुश खुवाएर अनशन तोडेका थिए ।

तर, नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले रेशम चौधरी कानुनको नजरमा दोषी नै रहेको र उनीमाथि अदालतले सजाय गर्ने अपेक्षा गरेको बताउँछन् । ‘रेशम कानुनका नजरमा दोषी हुन् उनी अहिले पनि कारागारमै छन् । बिरामी भएकाले अस्पतालमा ल्याईएको हो’ उनले भने ‘अदालतले सजाय दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

अदालतले के निर्णय गर्छ त्यसबारे आफुहरुले अनुमान गर्न नसकिने र राजनीतिक नेतृत्वले गर्ने निर्णयप्रति आफुहरुले बोल्न नमिल्ने उनले बताए ।

यस्तै, प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले पनि रेशम चौधरी लगायत घटनामा संलग्नहरुलाई हदै सम्मको सजाय हुने प्रहरीले अपेक्षा गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङको हाता भित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उद्घाटनका लागि बझाङ पुगेका नेपालले रेशम चौधरी लगायतका आरोपी बिरुद्ध प्रहरीले सम्पूर्ण अनुसन्धान पछि कारवाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेको र अदालतबाट उनलाई कारवाही हुने अपेक्षा गरिएको बताए ।

 समाजमा अपराध कर्म गर्ने कुनैपनि व्यक्तीले उन्मुक्ती पाउनु हुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको नेपालको भनाई थियो । गृहमन्त्रीको सवाल राजनीतिक भएको पनि नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *