खाना खाने शैलीले तय गर्छ तपाईं मोटाउने या दुब्लाउने !

“जापानीज अुनसन्धानकर्ताहरुले पत्ता लगाएका तथ्य अनुसार तपाईं मोटाउने या दुब्लाउने भन्ने कुरा तपाईंको खाना खाने शैलीले पनि निर्धारण गर्छ । तर खाना खाने शैली (तरिका) भने सबैको फरक हुन्छ ।

तथ्य अनुसार ढिला खाना खाने मानिस दुब्ला हुन्छन् भने छिटो खाना खाने मानिस बढी मोटाउँछन् ।
जापानमा ६ वर्ष लगाएर ५९ हजार ७ सय १७ जनामा गरेको अनुसन्धानले छिटो–छिटो खाना खाने मानिसमा भन्दा ढिला या सामान्य हिसाबले खाने मानिसमा मोटोपना हुने सम्भावना कम भएको देखाएको हो ।

अध्ययनमा छिटो खाना खान्छु भनेर बताउने ४४.८ प्रतिशत मानिस मोटोपनाको समस्याबाट पीडित थिए भने ढिला खान्छु भन्ने २१.५ प्रतिशत अन्यको तुलनामा कम मोटा थिए ।

जापानीहरुले टाइप टु डाइबिटिज भएका मानिसको स्वास्थ्य परीक्षण गरेर अनुसन्धान गरेका थिए । उनीहरुले छिटो खाना खाने या डिनर पछि स्न्याक्स खाने जस्ता अन्य बानीले मोटोपनालाई असर परे नपरेको बारे जान्न चाहेका थिए । अध्ययनका क्रममा केहीमानिसले आफ्नो खाने गतिमा परिवर्तन गरे । त्यसक्रममा ढिला खाने बानी भएका मानिसमा मोटोपना हुने सम्भावना कम भएको पाइयो । ‘तर खाने बानी परिवर्तन मोटोपना घटाउने रणनीतिका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिदैंन भनेर यो अध्ययनबाट भन्न सकिदैंन,’ अध्ययनकर्ताहरु भन्छन् ।

तर भन्न सकिने कुरा के हो भने ढिला खाँदा हामीले अघाएको थाहा पाउँदै जान्छौं र कम खान्छौं । चाँडो खाँदा भने अघाएको संकेत दिने हार्मोन नै निस्कन पाउँदैंन । यस्तै, बिस्तारै खाँँदा खानाको क्यालोरी पनि घट्न सहयोग गर्छ । तर अध्ययनका क्रममा क्यालोरीबारे भने हेरिएको थिएन ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको सहयोगमा क्युशु विश्वविद्यालयका विज्ञहरुले यो अनुसन्धान गरेका थिए । अध्ययनको नतिजा बीएमजे जर्नलमा प्रकाशित छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *