टिकापुर घटनाका आरोपीलाई उम्किन दिईंदैन : कानुनमन्त्री

काठमाडौँ, चैत ५ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले चौधरीको अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे । “सांसद हुँदैमा कानुन नलाग्ने भन्ने हुँदैन । उनको अभियोगउपर छानबिन भइरहेको छ । शपथबारे पनि कुनै निर्णय भइसकेको छैन,” उनले भने । “म कानुनको विद्यार्थीसमेत हुँ, अभियोग प्रमाणित नहुञ्जेल उहाँ आरोपितमात्रै हो । अभियोगबारे सम्बन्धित निकायले छानबिन गरिरहेकै छ । तथापि उनी जनप्रतिनिधि हुन्,” तामाङले भने ।

टीकापुर प्रकरण अत्यन्त सम्वेदनशील घटना भएकाले सोहीअनुरूप सरकारले गम्भीरताका साथ हेरिरहेको बताउँदै उनले अपराधी उम्कन नदिइने प्रष्ट्याए ।

०७१ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो । चौधरी त्यही घटनाका मुख्य योजनाकारको आरोपमा पूर्पक्षका लागि थुनामा छन् । सोही आरोपका कारण कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले शपथ खान पाएका छैनन् । उनले निर्वाचन आयोगबाट विजेताको प्रमाणपत्र पनि पाएका छैनन् ।

उपचारका लागि काठमाडौं ल्याइएका सांसद चौधरी अस्पतालमै अनसन बसेपछि गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका थिए ।

चौधरी आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरू पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका थिए । उनले १८ दिनपछि अनशन तोडेका हुन् । टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *