चिट्ठा परेको भन्दै पैसा ठगी गर्ने नौ जना पक्राउ

पोखरा, चैत ५ । सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट दुई महिलासहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने नौ जनालाई सार्वजनिक गरेको हो ।

रु २५ लाख चिट्ठा पर्यो तपाईंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *