दुर्गम गाउँका शिक्षक विश्वका उत्कृष्ट ४० भित्र

काठमाडौँ, चैत ५ । विश्वका उत्कृष्ट शिक्षकहरुको सुचीमा नेपालका विनोद शाही पनि पर्न सफल भएका छन् । उनी माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् । दुबईमा आयोजित शिक्षकहरुको एक अन्तरर्राष्ट्रिय कार्यक्रममा विभिन्न देशका उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो, जहाँ नेपाली शिक्षक बिनोद समेत उत्कृष्ट ४० भित्र पर्न सफल भएका हुन् ।

 

विश्वका उत्कृष्ट शिक्षकहरुको सुचीमा लन्डनकी एन्ड्रिया जाफिराकोउ उत्कृष्ट भएकी छन् । एन्ड्रिया लन्डनको अल्पर्टन सामुदायिक स्कुलकी शिक्षिका हुन् । भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा आर्टस र टेक्सटाइल्स पढाउने एन्ड्रियाले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाएकी छिन् ।

पूर्वअमेरिकी राष्ट्रपति एल गोर तथा पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनको उपस्थिति रहेको समारोहमा उनले पुरस्कार ग्रहण गरेकी थिइन् । समारोहमा बजाइएको बधाई सन्देशमा ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले जाफिराकोउलाई बधाई दिने सबैप्रति आभार प्रकट गरिन् ।

मेले जाफिराकोउ पुरस्कारको वास्तविक हकदार भएको बताइन् । यो पुरस्कार जित्ने पहिलो बेलायती शिक्षक रहेकी जाफिराकोउले संवाददाताहरुसँग भनिन्, ‘म अचम्मित र भावविभोर भएँ । मलाई आफूले जित्छु भन्ने लागेकै थिएन ।’

आफूले पाएको अवार्ड बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई उनले समर्पण गरिन् ।

एन्ड्रिया लन्डनको भित्री शहर ब्रेन्टमा रहेको अल्पर्टन सामुदायिक स्कुलमा पढाउँछिन् । यो सजिलो काम होइन । ब्रेन्ट मिश्रित जातजातिको जनसंख्या रहेको ठाउँ हो । यहाँका स्कुलहरुमा मात्रै १ सय ३० भाषा बोलिन्छन् । यसमा विद्यार्थीहरु ब्रिटेनका गरिब परिवारबाट आएका छन् ।

स्कुलमा आउँदा विद्यार्थीहरुको ज्ञान र सीप न्यून हुन्छन् । उनीहरु एकअर्कासँग घुलमिल हुन पनि समय लाग्छ । त्यसैले शिक्षकको काम झन् कठिन हुन्छ । तर एन्ड्रियाले सबै प्रतिकुलताहरुलाई चिरिन् । आर्ट र टेक्स्टाइल शिक्षिकाको रुपमा उनले विद्यार्थीहरुसँग अत्यन्त नजिक भएर शिक्षण गरिन् । उनले अन्य शिक्षकहरुसँग मिलेर पाठ्यक्रम सुधारसमेत गरिन् ।

उनले अल्पर्टनमा बोलिने ३५ भाषाको आधारभूत ज्ञान लिएकी छन् । उनले विद्यार्थीसँग मात्र नभएर विद्यार्थीका बाबुआमासँग पनि उत्तिकै राम्रो सम्वन्ध कायम राखेकी छिन् ।

उनकै प्रयत्नका कारण अल्पर्टन देशभरका स्कुलहरुमध्ये माथिल्लो श्रेणीमा पर्न सफल भएको छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *