‘चितवनलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’

भरतपुर, चैत ४ । नेपाल भारतको पर्यटन प्रवद्र्धन गोष्ठीले पर्यटक वृद्धि गर्नको लागि कुनै कसर बाँकी नराख्ने साझा धारणा निकालेको छ । गोष्ठीले नेपाल भारत दुबै देशले पर्यटक बढाउन सबै खालका समस्याहरु समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न तीनदिने गोष्ठीमा पर्यटक वृद्धिको लागि ससाना समस्याहरु पनि तगारो बनेको हुनाले त्यस्ता समस्याहरु चाँडै हल गर्दै अघि बढ्ने र पर्यटन वृद्धि विकासमा एक देशले अर्को देशलाई सघाउने साझा धारणा आएको थियो ।

गोष्ठीमा नेपाल र भारतका पर्यटन व्यवसायी, उद्योगीहरु, सञ्चारकर्मीहरु एवम् महावाणिज्य दूतावासका कर्मचारीहरु सहभागी भएर पर्यटन वृद्धि विकासको लागि सुझाव दिएका थिए ।

भारतका पर्यटन व्यवसायीहरुले नेपालमा पर्यटन वृद्धि विकासको लागि सडकको समस्या, मध्यम तथा निम्न खालका पर्यटकहरुलाई त्यस्तै खालका साना होटलको समस्या, पर्यटकको लागि पर्याप्त सवारी साधनको अभावलगायतका समस्याहरु देखाएका थिए । भारतका केही पर्यटन व्यवसायीहरुले नेपालमा पर्यटनको प्रचर सम्भावना हुँदाहुँदै पनि यहाँको अस्थिर सरकारले पर्यटन क्षेत्रको विकास हुन नसकेको गुनासो गरेका थिए ।

नेपालका पर्यटन व्यवसायी तथा उद्योगीहरुले अहिले बनेको सरकार स्थायी भएको बताएका थिए । नेपालका पर्यटन व्यवसायीहरुले यहाँका समस्याहरु हामी आफैँले हल गर्ने हुनाले पर्यटन वृद्धिविकासमा कुनै कसर बाँकी नराख्ने र पर्यटकहरुको लागि व्यवसायीहरुले प्याकेजका कार्यक्रमहरु ल्याइरहेको बताएका थिए ।
गोष्ठीको तेस्रो दिन आइतबार भरतपुरमा आयोजित बिजनेस टु बिजनेस मिटिङमा दुैब देशका पर्यटन व्यवसायीहरुले पर्यटक बढाउन ठूलो भूमिका खेल्ने प्रतिबद्धतासमेत गरेका थिए ।

गोष्ठी समापन समारोहमा प्रमुख अतिथि बनेका प्रदेश नम्बर तीनका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले पर्यटन क्षेत्रको वृद्धि विकास गर्न गुरुयोजना निर्माण गरेर अघि बढ्न सुझाव दिएका थिए ।

‘वीरगञ्जदेखि लुम्बिनीसम्म पर्यटन क्षेत्र निर्माण गर्ने हो भने मात्र पर्यटक अटाइ नअटाइ हुन्छ’ मन्त्री लामाले भने, ‘कपिलवस्तुको लुम्बिनी र चितवनको गैंडाले विश्वको पर्यटकलाई लोभ्याउँछ ।’ उनले भरतपुर महानगरलाई पर्यटक क्षेत्रहरुमा ठाउँठाउँमा पर्यटकीय गेटहरु बनाउन सुझाव दिएका थिए ।  ‘चितवन अन्तर्राष्ट्रिय जगतको पर्यटकीय क्षेत्र बन्छ । यहाँका बस्तीहरुलाई एकीकृत बस्तीको व्यवस्थापन गर्नुपर्छ । उन्नत खालको कृषि उत्पादनमूलक भूमिलाई कृषि क्षेत्र छुट्याउनुपर्छ’ मन्त्री लामाले भने, ‘वन क्षेत्रमा पर्यटकको विकास गर्न सकिन्छ । हरेक वन पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । यसमा महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकार एकै मत बनाउनुछ ।’

नेपालमा हालेको लगानी वालुवमा पानी हालेजस्तो हुने होकी भन्ने चिन्ता अब लगानीकर्ताले गर्न नपर्ने मन्त्री लामाको भनाइ थियो । उनले अहिलेको सरकार पाँच वर्षको लागि स्थिर सरकार भएकोले यो सरकारको अवधिमा पर्यटन क्षेत्रमा उल्लेख्य काम गर्न सकिने बताए ।

प्रदेश सांसद कृष्ण भुर्तेलले प्रकृतिको खातामा केही जम्मा नगरिकनै खुरुखुरु निकाल्न मिल्ने उपहार दिएको बताए । उनले ‘चितवन पूरा विश्व पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । नारायणीमा जलयात्राको सम्भावनादेखि गोलाघाटको सूर्यास्तसम्मको दृष्यले हरेक पर्यटकलाई लोभ्याउने उनको भनाइ थियो ।
यस्तै अर्की प्रदेश सांसद कञ्चन खनालले पर्यटनमा एउटै वस्तुलाई पटकपटक बेचेर फाइदा लिन सकिने भएकोले पर्यटनबाटै देशको आर्थिक विकास गर्न सकिने बताए । भारतीय महावाणिज्यदूत बीसी प्रधानले तीन दिनसम्मको कार्यक्रमका विविध गतिविधिले पर्यटन प्रवद्र्धनको काम गर्न उत्साह थपेको बताए । कार्यक्रम भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *