पाँच वर्षभित्र काठमाडौंमा रेल गुडाउने मन्त्री महासेठको दावी, पुरा होला सपना ?

काठमाडौं,चैत ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र उपत्यकामा रेल चलाउने बताएका छन् ।

रिपोर्टस क्लबमा आइतबार आयाजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए । ‘ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।” महासेठले भने । “थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।”

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

महासेठले केही दिनभित्र नै काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे ।

नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए । “एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ । सहयोग त चीनले पनि लिन्छ नि ।” उनले भने ।

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए ।

फरक प्रसङ्गमा महासेठले संघीय समाजवादी फोरम नेपाल र राजपा छिट्टै सरकारमा सहभागी हुने दाबी गरे । “फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस् । फोरम २ दिनभित्रमा आउँछ । राजपा पनि केही दिनमा आउँछ ।” उनले भने ।

राजपालाई सरकारमा ल्याउनका लागि कैलाली घट्नाका योजनाकार रेशमलाल चौधरीलाई छुट दिन खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले वर्तमान सरकारले कानुनविपरित गएर कुनै पनि काम नगर्ने बताए ।

“हामी कानुनको अधिनमा रहेर गर्न सकिने काम मात्रै गर्छौँ । रेशम चौधरीको सवालमा गृह मन्त्रालय र कानुन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।” उनले भने ।

यातायात मन्त्रीसमेत रहेका मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले पुनः विचार गर्ने बताए । “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ । चाँडै नै नयाँ नीति बनाउँछौँ ।” उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *