फोरमलाई मन्त्री छान्नै सकस

काठमाडौं, चैत ३ । संघीय समाजवादी फोरम सरकारमा जाने तयारीमा जुटेको छ । दुई मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा जान लागेको फोरमलाई मन्त्रीको नाम टुंगो लगाउनै हम्मे परेको छ ।

यही विषयलाई लिएर फोरमको बैठक धुलिखेलमा बसिरहेको बताइएको छ । तीन दिनदेखि धुलीखेलमा जारी पार्टीको प्रशिक्षण समाप्त भएपछि त्यहाँ उपलब्ध नेताहरुको बीचमा छलफल भइरहेको स्रोतले जनाएको छ । त्यहाँ छलफल भएपछि भोली पदाधिकारी बैठक बसेर मन्त्रीको टुगों लगाउने जनाइएको छ ।

वाम गठबन्धनले एक राज्यमन्त्री र दुई मन्त्रालय दिने भएपनि त्यसमा क–कसलाई पठाउने भन्नेमा फोरमले नाम टुंगो लगाउन सकेको छैन । स्रोतका अनुसारमा शुक्रबार दुईजना मन्त्रीमा उपेन्द्र यादवले आफ्नो र राजेन्द्र श्रेष्ठको नाम पठाएका थिए । परराष्ट्र र स्वास्थ्य मन्त्रालय लिने गरि उनले नाम पठाएका थिए ।

तर, पार्टीभित्र विवाद देखिएपछि फोरम नेपाल शपथ ग्रहणका लागि गएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिए ।

एमाले पार्टी स्रोतका अनुसार फोरम नेपालका लागि अहिले शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखिएको छ । जसमा फोरम नेपालले असन्तुष्टि जनाएको छ र परराष्ट्रमा नै उपेन्द्रले अडान लिएका छन् ।  फोरममा मन्त्रीको आकांक्षीमा उपेन्द्र यादवसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, प्रदीप यादव, हरिनारायण रौनियार र इस्तियाक राइन रहेका छन् । उनीहरुबीच मन्त्री बन्नेमा हानथाप हुँदा नाम टुंगो लाग्न नसकेको हो ।

परराष्ट्रमन्त्री नपाएको खण्डमा यादव सरकारमा सहभागि नहुने मुडमा रहेको स्रोतले जनाएको छ । उनी सरकारमा नगएमा अन्य नेताहरुलाई सरकारमा पठाइने छ । यादवलाई परराष्ट्र नै दिन एमाले राजी भएको खण्डमा प्रदीप ज्ञवालीको मन्त्रालय फेरिने छ ।

पार्टीकी उपाध्यक्ष रेणु यादवले मन्त्रीबारे केहि टुंगो नलागेको बताइन् । यादवले संविधान संशोधन नभएसम्म फोरम सरकारमा जान नहुने बताउँदै आएकी छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *