प्रेम र प्रणयको रेखाचित्रः ‘मिराज’

समाजिक र मनोवैज्ञानिक उपन्यासको बाहुल्य बढिरहेको बेला विगत एक दशकमा प्रेम, प्रणय र यौनकेन्द्रीत उपन्यास पनि ठूलो सङ्ख्यामा आइरहेको देखिन्छ । यी उपन्यासले कुनै सामाजिक अथवा राजनैतिक तर्कभन्दा पनि युवा वयका पाठकलाई मनोरञ्जन दिनु र उनीहरूको उमेरमा देखापर्ने मनोवैज्ञानिक स्वभावहरूबारे अवगत गराउनु रहेको देखिन्छ । केही केही उपन्यासको हकमा उमेरजन्य समस्याहरूबारे पनि पाठकलाई अवगत गराउने चेष्टा राखेको देखिन्छ । ठूलो सङ्ख्यााम बिक्री हुने भनिएको यस्ता उपन्यासले कुनै नवीन तथ्य उजागर गरेको, नयाँ शैली निर्माण गरेको अथवा परम्परागत उपन्यास लेखनमा कुनै नयाँ प्रयोग अविष्कार गरेको भने देखिँदैन ।

यस्तै प्रेम, प्रणय र यौनिक स्वभावकै वरिपरि घुमेको पछिल्लो उपन्यास हो कृष्ण ढुङ्गेलद्वारा लिखित उपन्यास ‘मिराज’ । २०७४ सालमा डिकुरा पब्लिकेशनले बजारमा ल्याएको यो उपन्यास ढुङ्गेलको पहिलो प्रकाशित कृति हो । २८७ पृष्ठमा फैलिएको यस उपन्यासमा पूर्व झापा र इलामको सेरोफेरोको सेटिङ रहेको छ भने कथावस्तु प्रेम र यौनमा आधारित छ ।

भर्खर स्नातक सकेका युवा लेखक कृष्ण ढुङगेलको उपन्यासका पात्रहरू पनि प्रायः उनकै उमेरका सहपाठिहरू छन् । उपन्यासको मुख्य पात्र मिराज लगायत अन्य पात्रहरू सम्झना, आकृति, शीला, शुभम, राधे, देवी, निशा, राजिव आदि हुन् । सबैजसो कलेज पढ्ने, लगभग सबैको कसै न कसैसँग लभ अफेयर चलेको हुन्छ । कथानक त्यही कलेज, होस्टल, पिक्निक—स्पोट, कन्याम, फिक्कल आदिकै सेरोफेरोमा सुरू र अन्त्य हुन्छ ।

उपन्यासको मुख्य पात्र मिराज सुरूमा रेखा नाम गरेकी केटीलाई मन पराउँछ तर केटीले उसलाई वास्ता गर्दिन । मिराजकै सहपाठी सम्झना उसलाई मनपराउँछे तर मिराज उसलाई वास्ता गर्दैन । एउटा विवाहको कार्यक्रममा भेट भएकी आकृति नाम गरेकी एउटी राम्री केटी उसलाई मन पर्छ । देवी मार्फत आकृतिको फेसबुक आइडी र फोन नम्बर हाँसिल गर्छ । अर्कै कलेजमा १२ मा पढ्ने हुनाले ऊसँग भेट चैँ खासै हुँदैन । कहिलेकाहीँ फेसबुकमा हेलो–हाई चाहीँ हुन्छ ।

यता सम्झना एउटै क्लासमा पढ्ने । रूम पनि नजिक । सधैँ भेट हुने हुनाले छिट्टै घनिष्टता बढ्छ र छिटै नै झाँगिएर एउटै बिस्तारासम्म पुग्छ । दुवैमा प्रेमक्रिडा हुँदै पटकपटक यौन सम्बन्ध हुन्छ । मनमा आकृतिलाई सजाएको भए पनि सम्झनालाई धोका दिनु अपराध हुन्छ भन्ने सम्झन्छ । आकृतिसँग दूरी बढाउँछ । यत्तिकैमा सम्झनाको अमेरिकन पिआर भएको केटासँग सुटुक्क बिहे हुन्छ । मिराज फेरि आकृतिसँगै नजिकिन्छ । भेटघाट पनि बढ्छ, घनिष्टता बढ्छ, प्रेम झाँङ्गिन्छ।

स्नातकको अन्तिम परीक्षा सकेर मिराज एउटा निजी विद्यालयमा पढाउन जान्छ । केही दिनपछि आकृतिको फोन आउँछ । उसको पनि सिंङ्गापुरे लाहुरेसँग परिवारले जबजैस्ती अनमेल विवाह गरिदिन्छन् । आकृति भर्खर प्लस टु सकेकी केटी तर केटोचाहिँ अधबैंसे हन्छ । त्यसपछि मिराज आफूलाई जाँड रक्सीमा डुबाउँछ, आकृति आफूलाई आँसुमा डुबाउँछे । दुवै लाचार हुन्छन् । मिराज पूरै अचेत अवस्थामा हुनेगरी पिउन थाल्छ । एकदिन आधा रातमा टिल परेर कोठा जाँदैगर्दा आकृतिलाई चार–पाँच जनाले घेरेको जस्तो देख्छ । ऊ तिनीहरूमाथि जाइ लाग्छ । एउटाले उसलाई हुत्याइदिन्छ । त्यसपछि होश खुल्दा उसले आफूलाई हस्पिटलको बेडमा पाउँछ ।

‘मिराज’ युवा आख्यानकार कृष्ण ढुङ्गेलको पहिलो कृति हो । उनले यस उपन्यासमा जतिसक्दो कथालाई पात्रको उमेर र मानसिकताअनुसार कथावस्तुमा ढाल्ने प्रयास गरेका छन् । पात्रहरूको चरित्र चित्रण र सेटिङमा खासै समय र शब्दहरू खर्चेका छैनन् । यसमा युवाहरूको रूचिको विषय प्रेम र रोमान्स प्रचूर मात्रामा भएकाले पढ्दा पट्टयार लाग्ने खालको छैन । कथाले तानिरहन्छ । समयअनुसार सामाजिक सञ्जालको पनि भरपूर उपयोग गरेको पाइन्छ । यस उपन्यासमा सम्झना र आकृति बिहे भएर गएपछि हराउँछन् । शुभम र शिला पनि बीचैमा छोडिन्छन् । लेखकले अन्त्यमा भनेका छन् : ‘दिलको कथा सकिएको छैन’ । त्यसैले अर्को अङ्क पनि आउने सम्भावना छ ।

उपन्यासको कथन शैली पुरानै खालको छ । राजीवले मिराजको डायरी पढ्छ । मिराजको चरित्र दोधारे खालको देखिन्छ । ऊ ‘आकृतिलाई दिलमा सजाउँछु, ऊ नै मेरी दिलकी रानी हो’ भन्छ तर मौका मिल्नासाथ सम्झनासँग रोमान्स गर्छ । सम्झनासँग सम्भोग भएपछि चाहिँ उही हो मेरी दिलकी रानी भन्छ ।

उपन्यासमा नारी पात्रहरू शिक्षित भएपनि मौन छन् । परिवार र समाजसँग प्रतिवाद गर्न नसकी आफ्नो चाहनाविपरीत विवाह गर्न बाध्य हुन्छन् । कलेजमा पनि प्रायस् पुरूष पात्रहरूले फलानी तेरी फलानी मेरी भन्दै उछृङ्खल र असभ्य शब्दहरू प्रयोग गर्छन् । कलेजमा, पिक्निक स्पोटमा, विद्यार्थीको कोठा आदि ठाउँमा प्रसस्तै यौनिक क्रियाकलाप तथा भद्दा सम्वाद हुन्छन् । त्यसैले यो उपन्यास पढ्दा कता कता यौन कथाको आभाष दिलाउँछ ।

उपन्यासमा मिराजले सम्झनासँगको सम्बन्ध केवल सम्भोगका लागि र यौन तिर्खा मेटाउनका लागि मात्रै हो भन्छ तर आकृतिसँगको प्रेम अत्यन्तै पवित्र, चोखो र अलौकिक भएको जिकिर गर्छ । तर त्यस्तो गहिरो सम्बन्ध हुनलाई कुनै मनै छुने खालको कुनै घटना वा एकले अर्काका लागि गरेको त्याग केही पनि देखिँदैन जसले पाठकलाई एकपल्ट आफ्नो छातीमा हात राखी लामो स्वास फेर्न बाध्य गरोस् । यसमा पनि उनि दोधारे देखिन्छन् । किनकि आकृतिसँग पनि त कहिलेकाहीँको भेटमा रोमान्स त चल्थ्यो नि । सम्झनासँग जस्तो एकान्त र बाक्लो भेटघाट नभएर भनु या आकृति अलि अन्तरमुखी  खालकी भएर हो कि !

मिराज आफैँ आकृतिका बारेमा यसो भन्छः “हामीबीच पनि हुन्थे किस र मिसहरू । तर ती किसहरू ओठमा ओठ जोडेर गरिनु भन्दा कैयौँ गुणा पवित्र थिए । सम्भोगसमेत हुन्थे उसका र मेराबीच जुन भावनाका हुन्थे । एउटै ओछयानमा सयौँ रात काटेका थिए विचारहरूले” (पृ २०४) । तर यस्ता अवैध शारीरिक सम्बन्धहरू त्यो प्रेम पनि निश्छल थियो भन्ने आधार भेटिँदैन, जस्तो उपन्यासमा दावी गरिएको छ ।

लेखकले उपन्यासमा मिराज चाहिँ ‘अतीत’ र आकृति ‘साया’ भएको कल्पना गरेको उल्लेख गरेका छन् । मिराज गरिब ब्राह्मण परिवारको आकृति सम्पन्न क्षेत्री परिवारकी । सुबिन भट्टराईको चर्चित उपन्यासका पात्र हुन् अतीत र साया । अतीत पनि ब्राह्मण र साया काठमान्डुकै स्थानीय नेवार खान्दानकी । त्यसै कारणले दुवैको परिवारमा उनीहरूको सम्वन्ध स्वीकार्य थिएन। कति कुराहरूले लेखक सुविन भट्टराईको लेखनबाट प्रभावित भएको देखिन्छ ।

उपन्यासको अन्त्यमा सहयोग गरेकोमा धेरैलाई कृतज्ञता ज्ञापन गरिएको भएतापनि शुद्धाशुद्धि नहेरी यत्तिकै छापिएको जस्तो छ । विराम चिन्हहरू लगायत शब्दमा पनि धेरै भाषिक अशुद्धता छ ।

जे होस् भर्खर स्नातक सकेका एकजना तन्नेरी उदयीमान लेखक कृष्ण ढुङ्गेलले संन्सारमा सबैभन्दा बढी लेखिएको विषय प्रेम र यौनलाई मुख्य विषय बनाई यत्रो उपन्यास लेख्ने आँट गर्नु सह्रानीय छ । तर यिनै विषयमा लेखिएका अन्य कृतिहरू भन्दा कसरी आफ्नो कृति पृथक र परिस्कृत छ भनी सावित गर्छन्, त्यो चाहिँ आम पाठकको हातमा छ ।

युवा लेखक कृष्ण ढुङगेललाई हार्दिक शुभकामना ।

(Samalochak.com बाट साभार ।)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *