शिक्षा मन्त्रालयमा गिरीराजमणि पाेखरेलकाे ‘कम ब्याक’

२ चैत, काठमाडौं । माअाेवादी केन्द्रका प्रभावशाली नेता गिरीराजमणि पोखरेलले शिक्षकले जागिर मात्रै खाएर जिम्मेवारी पुरा नहुने बताएका छन् । केपी अाेली नेतृत्वकाे सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीकाे सपथ लिँदै शुक्रबार शिक्षा मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री उक्त कुरा बताएका हुन् ।

यस अघि पनि शिक्षा मन्त्री भएर मन्त्रालयकाे इतिहास बुझेका मन्त्री पाेखरेलले सामुदायिक शिक्षाको गुणस्तर खस्किँदै गरेको सन्दर्भमा ट्रेड युनियनको नाममा शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन चेतावनी दिएका हुन् ।

‘शिक्षकको व्यक्तिगत स्वतन्त्रताको सम्मान राज्यले गर्छ । तर, कक्षा कोठामा भूमिका निर्वाह नगरी राजनीति गर्दै हिँड्ने अवस्थाको अन्त्य अब हुनुपर्छ।’ उनले शिक्षकहरूले ट्रेड युनियनकाे नाममा राजनीति गरेकाेले सरकारले चालेका सकारात्मक काम समेत प्रभावित भर्इरहेकाे प्रति लक्षित गर्दै ट्रेड युनियनहरुलाई सहज वातावरण बनाउन अाग्रह गर्दै भने । ‘सरकार तपार्इहरूसँग सहकार्य गरेर अगाडी बढ्न चाहन्छ, यहाँहरूले पनि सरकारका सकारात्मक याेजना र काममा साथ दिनुहुनेछ भन्ने अाशा लिएकाे छु । यहाँहरूले संगठन भन्दा पनि संस्था र कर्तब्यलार्इ पहिला प्राथमिकता दिनुहाेला ।’

शिक्षा नियमावलीकाे अाठाैं संसाेधन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्री पाेखरेलले देशमा प्राविधिक जनशक्तिकाे अभाव रहेकाे भन्दै सिटिइभिटीले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा परिणाममुखी काम गर्न नसकेकाे र भ्रष्टाचारमा लिप्त भएकाे अाैल्याए ।

उनले सिटीईभिटीमा मौलाएको भ्रष्टाचार र अराजकतामाथि पनि आफ्नो नजर परेको र चाँडै सुधारका कदम चाल्ने बताए । सिटिइभिटीमा सम्बन्धन दिने नाममा हुने चलखेल तत्काल नरोकिए आफूले बाध्य भएर कदम उठाउनुपर्ने अवस्था आउनेतर्फ संकेत गरे ।

‘मन्त्रीका, सदस्य सचिवका र सीटीईभीटीका कर्मचारीका मान्छेको मात्रै फाइल उठ्ने समस्या सिटीईभीटीमा ब्याप्त छ । यस्ता गुनासा सम्बोधन हुने गरी काम तत्कालै काम हुनुपर्छ यसका लागि म जस्ताे सुकै कठाेर कदम पनि चाल्न तयार छु ।’ पोखरेलले भने ।

उनले अहिलेका विश्वविश्द्यालयहरु ‘विश्वविद्यालय’जस्ता नभएको बताउँदै विश्विविद्यालयकाे ब्यापक सुधार गर्नुपर्ने अाैल्याउँदै जीवनउपयोगी सीपमा आधारित शिक्षाको कार्यान्वयन आफ्नो प्राथमिकतामा पर्ने पनि बताए । ‘हामीले चुनावका बेला ३० प्रतिशत सैद्दान्तिक र ७० प्रतिशत प्राविधिक शिक्षा दिन्छौं भनेर प्रतिवद्धता गरेरेर यहाँ आएका छौं । झण्डै दुई तिहाई बहुमतमा बनेको यो बाम सरकारले छोटो समयमै यो काम गर्नुपर्ने भएकाेले तपाईं कर्मचारीहरुले के-के गृहकार्य गर्नुपर्ने हो गर्नुस् ।’

उनले आफूलाई नियमित रिर्पोटिङ सुन्न चासो नभएको बताउँदै कर्मचारीलाई रिजल्ट लिएर मात्रै आफूकहाँ आउन पनि भने । उनले सार्वजनिक शिक्षाको अवस्था सुधार गर्न ऐन, कानुन र नीतिहरु निर्माण गर्न पनि अब ढिलाइ नहुने बताए ।

मन्त्री पोखरेलले शिक्षालाई विज्ञान तथा प्रविधिसँग जोड्ने गरी पनि काम गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यसका लागि आवश्यक तयारी गरिने बताए । मन्त्री पोखरेलले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने निर्णय गरेकाले सो काम तत्कालै अघि बढ्ने पनि बताए ।

यस्ताे छ मन्त्री पाेखरेलकाे राजनीतिक यात्रा

खोटाङ जिल्लाको खार्पा–६ मा वि.सं.२०१७ साल जन्मेका पोख्रेलले वाणिज्य शास्त्रमा स्नातकोत्तर तह र कानूनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

बाबुको नाम चन्द्रमणी पोख्रेल र आमाको नाम कनक पोख्रेल हो । पोख्रेल महोत्तरी गौरिवास २ का स्थायी बसिन्दा हुन् । उनले तत्कालीन जनमोर्चा नेपालमा रहेका पार्टी एकीकरणसँगै माओवादीमा छन् ।
उनी पत्रकार पृष्ठभूमिबाट २०३७ सालदेखि राजनीतिमा प्रवेश गरे ।
२०६४ वैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका उनी २०६५ साल भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बन्ने मौका पाएका थिए ।
त्यस्तै केपी ओली सरकारको नेतृत्वमा शिक्षामन्त्री बन्न पुगे भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुनः स्वास्थ्य मन्त्री भएका थिए । यसरी उनले तीन पटकसम्म स्वास्थ्यमन्त्री हुने मौका पाए ।
उनी माओवादी केन्द्रका सचिव र प्रमुख सचेतक समेत रहिसकेका छन् ।
उनले बेलायत, चीन, भारत, भुटान, थाइल्याण्ड, फ्रान्स, स्वीटजल्याण्ड, घाना, माली सहित एक दर्जन देशहरुको भ्रमण गरेका छन् । उनी महोत्तरीबाट दुईवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *