पोखराको फिर्के खोलाको रेखाङ्कन शुरु, मापदण्ड मिचेर बनाइएका संरचना भत्काइँदै

“
पोखरा, चैत २ । पोखरा लेखनाथ महानगरपालिकाले पोखराको बीच भाग भएर बग्ने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कनको काम शुरु गरेको छ ।
पोखराको बीच भाग भएर बग्ने फिर्केखोलाको दाँयाबायाँ तर्फबाट अतिक्रमण बढ्दै गएको भन्दै सरोकारवालाहरुको दवाब बढेपछि अतिक्रमण हटाएर फिर्केखोलाले चर्चेको सार्वजनिक जग्गा छुट्टाउनको लागि महानगरपालिकाले रेखाङ्कनको काम शुरु गरेको गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाको अगुवाइमा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य बुधबार विहानदेखि औपचारीक रुपमा शुरु भएको छ ।
मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका वडा नम्बर १८ सराङकोटको फेदी अँधेरीकुनाबाट शुरु भएको बुलौदी खोला करिब ९ किलोमिटरमा फेवातालमा मिसिने गरेको छ ।
फिर्के खोला अँधेरीकुनादेखि बुलौंदीसम्म ५ मिटरको छ भने बुलौंदीदेखि फेवाताल मिसिने बिन्दुसम्म ३४ मिटरको रहेको महानगरका अमिन दिवाकर सुवेदीले जानकारी दिए ।
महानगरपलिकाले फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनैपनि संरचना बनाउन निषेध गरिएको छ । तर,पनि दायाँबायाँका सधियारहरुले विना स्वीकृति भौतिक संरचना निर्माण गरी प्राकृतिक दोहन गर्दै आएपछि महानगरले बाध्य भएर रेखाङ्कनको काम शुरु गरेको हो ।
एक हप्ताभित्र सक्ने गरी फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखाङ्कन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए । उनले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटम सहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिले डोजर लगाएर हटाउने बताए ।
डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई छ । पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मेयर जिसीले बताए । ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? कायमगरिएको ५ मिटर मापदण्ड पालना भएको छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ’ प्रमुख जिसीले भने ।
अँधेरीकुनाबाट, प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फिर्के खोला फेवाताल सम्म पुग्ने गरेको छ । पोखराको बिच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले बताए । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकीलो रहेका छन् । खोलाको किनारबाट दुबै तर्फ ५ , ५ मिटर मादण्ड लाग्ने उनले बताए ।
“








