कर्णाली प्रदेशले चैत्र १५ मा पुरक बजेट ल्याउँदै

चैत्र २, सुर्खेत । चालू आर्थिक वर्षको चार महिनाका लागि कर्णाली प्रदेश सरकारले चैत १५ गतेभित्र एक अर्व रुपैयाँको पूरक बजेट ल्याउने तयारी गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत १५ गतेभित्रै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सरकारले सार्वजनिक गर्न लागेको एक अर्वको बजेट संघीय संचित कोषबाट निर्माण भएको बताईएको छ ।

प्रदेश सरकारको भिजनभित्र समेटिएका विभिन्न १२ वटा विषयलाई समेटेर चार महिनाका लागि बजेट ल्याउन लागिएको आर्थिक मामिला मन्त्रालयका निमित्त सचिव मदन मगरातीले जानकारी दिए । ‘चार महिनाका लागि पुरक बजेट यहि चैत्र १५ भित्रमा सार्वजनिक हुन्छ ।’ उनले भने ।

मगरातीका अनुसार मन्त्रालयले आधारभूत विकास, खाद्यान्नमा आत्मनिर्भरता, कृषिमा आधुनिकिकरण, पर्यटन विकास, जल, जमिन, जडिबुटी, जंगल र जनशक्तिको अधिकतम उपयोगलाई प्राथमिकतामा दिएर बजेट तर्जुमा गरिएको बताए ।

यसैगरी एकीकृत बस्ती निर्माण, स्थानीय सडक विस्तार, प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतीकरण, शैक्षिक संस्थाको सुदृढिकरण, सबै जिल्लामा सुविधा सम्पन्न अस्पताल, पर्यटनको विकासका लागि धार्मिक तथा प्राकृतिक क्षेत्रको विस्तार र कर्णालीलाई ग्रिन प्रदेशका रुपमा विकास गर्ने उद्देश्यसहित बजेट सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ ।

प्रदेशको आन्तरिक आय नभएकाले संघीय संचित कोषबाट प्राप्त बजेटलाई नै सार्वजनिक गर्ने तयारी भएको निमित्त सचिव मगरातीले बताए । यसका साथै प्रदेश सरकारले स्थानीय आवश्यकता र विभिन्न मन्त्रालयले पेश गरेका कार्यक्रमका आधारमा रहेर पनि बजेट विनियोजन गर्ने छ ।

कर्णाली प्रदेशबाट एक आर्थिक वर्षमा कर तथा गैरकरबाट एक अर्वको हाराहारीमा राजस्व संकलन हुने गरेको पाइएको छ । सबैभन्दा ठूलो भूगोल र सबैभन्दा कम जनसंख्या भएको कर्णाली प्रदेशमा अघिल्लो आर्थिक वर्षमा कर तथा गैरकरमार्फत एक अर्व १६ करोड ४८ लाख ७२ हजार चार सय ४६ रुपियाँ राजस्व संकलन भएको छ ।

पछिल्ला तीन आर्थिक वर्षको १० जिल्लामा संकलित कर र गैरकर हेर्दा एक अर्वको हाराहारीमा राजस्व संकलन भएको देखिएको मगरातीको भनाई छ । प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै राजस्व सुर्खेतबाट संकलन हुन्छ । आर्थिक वर्ष २०७३/०७४ को तथ्याङ्क अनुसार सुर्खेतबाट ५८ करोड ३७ लाख ७६ हजार १२० रुपैयाँ कर तथा गैररकम संकलन भएको छ । सबैभन्दा कम रुकुम पश्चिमबाट एक करोड ५५ लाख ३७ हजार ४ सय ५० रुपैयाँ संकलन भएको छ ।

कर्णाली प्रदेशको जुम्ला जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा १२ करोड १६ लाख ८६ हजार २०९ रुपियाँ संकलन भएको छ भने दैलेखमा ९ करोड २७ लाख ६२ हजार ९७८ रुपियाँ संकलन भएको छ ।

यस्तै सल्यानमा ८ करोड ११ लाख ६२ हजार १५९, जाजरकोटमा ७ करोड २० लाख ८६ हजार ४९९, कालिकोटमा ६ करोड ३० लाख ५६ हजार ८०४, डोल्पामा पाँच करोड ४३ लाख ४६ हजार ७६६, हुम्लामा चार करोड ५४ लाख ३३ हजार ३२२ र मुगुमा तीन करोड ५० लाख २४ हजार १३९ रुपैयाँ कर तथा गैरकर संकलन भएको बताईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *