घोडाघोडीका मेयरलाई गोली हान्ने विप्लवका कार्यकर्ता सार्वजनिक

धनगढी, चैत १ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने सबै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै खोजी र अनुसन्धान भइरहेको जानकारी दिए ।

उनीहरुलाई मेयर चौधरीलाई गत फागुन २८ गते राति खुकुरी र गोली हानेको आरोप छ । टाउकोमा खुकुरी र कम्मर मुनिको भागमा गोली लागेर घाइते भएका चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

बोक्सि आरोपमा घोडाघोडीकी युवती राधा चौधरीमाथि निर्घात कुटपिट हुँदा रमिते बनेको र संलग्नहरुलाई प्रहरी हिरासतबाट छुटाएको भन्दै नेकपा कैलाली जिल्ला समितिले मेयर चौधरीलाई राजीनामा दिन दबाब दिएको थियो । अन्यथा जनकारवाही गर्ने नेकपाले विज्ञप्ति निकालेरै चेतावनी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *