स्थानीय तहले बनाएका कानुन शिक्षक संगठनले नमान्ने

काठमाडौं, फागुन ३० । स्थानीय तहले विद्यालय शिक्षामा थप समस्या पैदा गरेको शिक्षकहरुले आरोप लगाएका छन् । शिक्षामा पहिले देखिनै कतिपय विकृतिहरु रहेकोमा ती विकृतिको अन्त्य गर्नुको सट्टा स्थानीय तहलाई हस्तान्तरण गरी झन समस्या थपिएको शिक्षकहरुको गुनासो छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको ३ नम्बर प्रदेशले मन्त्रीहरुका लागि आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षक संगठनका प्रतिनिधिहरुले संघीय र प्रदेश कानुन बनेपछि मात्रै स्थानीय तहले कानुन बन्नुपर्ने बताए ।

सम्मान कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताए । मन्त्री दुलालले शिक्षामा सुधार भन्दा रुपान्तरण आवश्यक रहेको बताए । बामपन्थी प्रदेश सरकारले निर्वाचनका बेला गरेका सम्पूर्ण प्रतिवद्धताहरु अक्षरंश पालना गर्ने बताउँदै मन्त्री दुलालले यस सरकार समृद्ध मुलुकको लागि सुधार भन्दा आमूल परिवर्तनको बाटोमा अघि बढ्ने स्पष्ट पारे ।

संगठनका ३ नम्बर प्रदेशका अध्यक्ष दुर्गासिंह तामाङले संघीय शिक्षा ऐन नबनीकनै स्थानीय तहहरुले आफुखुसी ऐन बनाएर शिक्षकहरुमाथि प्रहार गरिरहेको बताए । कतै, विद्यालय खारेज गरिएका छन्, कतै शिक्षक सरुवा गरिएका छन्–उनले भने, संघीय शिक्षा ऐन र प्रादेशिक शिक्षा ऐन नबनी स्थानीय तहले बनाएका शिक्षाका कानून मान्न आफुहरु बाध्य नभएको दाबी गरे । स्थानीय तहहरुले शिक्षकहरुमाथि गरेको दमन तत्काल रोक्नुपर्नेमा उनको जोड थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकमा समस्या रहँदा सम्म मुलुक समृद्ध नबन्ने दावी गर्दै अस्थायी, राहत, इसिडि शिक्षक, विद्यालय कर्मचारी लगायत सबैको समस्या थोक रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । अधिकारीले तत्काल संघीय शिक्षा नीति जारी हुनुपर्ने र सोही अनुसार प्रादेशिक र स्थानीय शिक्षाका कानून बन्नुपर्ने बताए ।

संगठनका ३ नम्वर प्रदेश समितिका महासचिव भिम पोखरेलले शिक्षक र शिक्षाको समस्या समाधान गरेर समृद्ध मुलुकको बाटो तयार गर्न प्रदेश सरकारसँग आग्रह गरे । शिक्षकलाई कार्बाही गरे मात्रै सुधार गरेको देखिन्छ भन्दै स्थानीय तहहरु शिक्षक प्रति आक्रमक हुँदै गएका भन्दै पोखरेलले शिक्षक माथिको दमन अन्त्य हुनुपर्ने बताए ।

संगठनले ३ नम्बर प्रदेश सरकारमा माओवादीबाट सहभागी गृहमन्त्री शालिकराम जमरकटेल, सामाजिक विकास मन्त्री युवराज दूलाल र केन्दीय संगठनमा भर्खरै अध्यक्षमा निर्वाचित शंकर अधिकारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *