राष्ट्रपति निर्वाचन परिणाम आजै

काठमाडौं, फागुन २९ । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ । आजै साँझसम्म परिणाम आइसक्ने बताइएको छ ।

कुल ८८० मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदाता गरेका छन् ।

वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

बामगठबन्धनसहित अन्य साना दलहरुको समेत समर्थन पाएकाले राष्ट्रपतिमा भण्डारीनै दोहोरिने निश्चित छ । राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ५० प्रतिशत मत पाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । राष्ट्रियसभा र संघीय संसद्को मतभार संख्या ७९ र प्रदेशसभा मतभार संख्या ४८ तोकिएको छ । कुल ५२ हजार ५०० मतभार संख्या रहने निर्वाचनमा २६ हजार २५१ मतभार ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान छ ।

नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपति चुनावमा मतदान बहिस्कार गरेको छ । मतदानमा नेमकिपाका एक जना प्रतिनिधिसभा सदस्य र २ जना प्रदेशसभा सदस्यले मतदान गरेनन् । सांसद प्रेम सुवालले चुनावी मैदानमा रहेका पार्टीहरुसँग छलफल र सहमति नभएका नभएकाले भोट नहालेको बताए ।

नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि मतदानमा भाग लिएनन् । प्रतिनिधिसभा सदस्य एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेनन् ।

यस्तै, राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले पनि मतदान गरेनन् ।

राष्ट्रियसभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदान गर्न पाएनन्। सपथग्रहण अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएकाले राष्ट्रिय सभाका ३ जना मनोनित सांसदहरुले मतदानमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *