फोहोरबाट उर्जा : दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गरिने

धरान, फागुन २८ । अबको केही समयमा धरानमा फोहोरबाट बैकल्पिक उर्जा उत्पादन हुने भएको छ । धरान उपमहानगरपालिका, नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले नेपालमै पहिलो पटक धरानमा एनारोविक डिजेस्टेसन प्रविधिबाट उर्जा उत्पादन गर्न लागेको हो ।

आयोजना सञ्चालन गर्न त्रिपक्षिय सम्झौता समेत भई सकेको छ । उपमहानगरपालिकाका शुन्य लगानीमा सञ्चालन हुने योजनाका लागि भेन्चर वेष्ट टु एनर्जीले धरान ६ स्थित पानबारीमा १६ कठ्ठा जग्गा समेत खरिद गरिसकेकोे छ

२४ करोड लगानीमा सञ्चालन हुन लागेको आयोजना २० बर्षपछि धरान उपमहानगरपालिकाको पुर्ण स्वामित्वमा आउने सम्झौता भएको छ ।

धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाले धरानको फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गरी फोहोरलाई पनि आय श्रोत बनाउने योजना अनुसार कार्य अगाडि बढेको बताए । सुब्बाले धरानमा उत्पादन हुने जैबिक फोहोरबाट बैकल्पिक उर्जा, मल उत्पादन गर्ने र अन्य फोहोरलाई दिर्घकालिन व्यवस्थापन गर्ने बताए ।

‘अहिले धरानमा उत्पादन हुने फोहोरको ८० प्रतिसत जैबिक फोहोर छ, जसलाई बैकल्पिक उर्जामा प्रयोग गर्न सकिन्छ । बाकी २० प्रतिसत फोहोरलाई पुनः प्रयोग गर्न मिल्दैन, हामी त्यसको पनि व्यबस्थापन गर्न विकल्प निकाल्नेछौ’ उनले भने ।

त्यस्तै भेन्चर वेष्ट टु इनर्जी प्रालीका अध्यक्ष जेनेस श्रेष्ठले अब केही महिना भित्रै धरानमा आफुहरुले काम थाल्ने जानकारी दिए । श्रेष्ठले भने, ‘अधिकतम ५ बर्ष सम्म धरान उपमहानगरपालिकाले फोहोर उठाइदिने र त्यसपछि हामीले आफै फोहोर उठाउने सहमती भएको छ ।’

फोहोरबाट जति आम्दानी हुन्छ त्यसको एक प्रतिसत रोयल्टी उपमहानगरलाई कम्पनीले बुझाउने समेत जाकारी दिएको छ । धरानमा अहिले हरेक दिन २२ मेट्रिक टन फोहोर उत्पादन भई रहेको छ ।

भेन्चरका अध्यक्ष श्रेष्ठका अनुसार दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्ने लक्ष्यका साथ सो प्रोजेक्ट सञ्चाल गर्न लागिएको छ । उनले फोहोरबाट ग्याँस, विजुली, मल उत्पादन गरेर बिक्रि गरिने जानकारी दिए । श्रेष्ठले उत्पादन गरेको ग्याँस अहिले बजारमा पाईने एलपी ग्याँस भन्दा झण्डै २ सय रुपैया सम्म सस्तो पर्न जाने बताए ।

धरान उपमहानगरपालिका र भेन्चर बिच भएको सहमतिमा प्लान्ट स्थापनाको वर्ष फोहोर ढुवानी धरान उपमहानगरपालिकाकाले गर्ने र दोश्रो वर्ष देखि पाँच बर्ष भित्रमा घट्दो क्रममा फोहोर ढुवानी गर्ने, प्रशोधन गरेर बाँकी रहेको फोहोरलाई उपमहानगरपालिकाले व्यवस्थापन गर्ने, २० वर्षको अवधि पछि आयोजनाको स्वामित्व लिएर सञ्चालन गर्ने र नगरको वातावरणिय, सामाजिक तथा आकस्मिक सवालमा नेतृत्वदायी भुमिका खेल्ने सर्त उल्लेख छ ।

विस २०६८ सालमा नेपाल सरकारले गरेको अध्ययन अनुसार नेपालमा बार्षिक ५३ लाख मेट्रिकटन शहरी फोहोर उत्पादन हुने गरेको छ । उक्त फोहोरबाट ११ लाख एलपीजी ग्याँसका सिलिण्डर प्रतिस्थापन गर्न सकिने बताईएको छ ।

धरानमा राख्न लागिएको प्लान्टबाट दैनिक ३० मेट्रिक टन दैनिक फोहोरको प्रशोधन गर्न सकिन्छ । यसरी उत्पादन गरिएको उर्जा वातावरणमैत्री हुने भेन्चर वेस्ट टु इनर्जीले जनाएको छ । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले यो आयोजनामा धरान उपमहानगरपालिकाले कुनैपनि जेखिम लिनु पर्ने अवस्था नरहेको बताए ।

पाँच वर्ष भित्रमा धरान उपमहानगरपालिकाकाले फोहोर व्यबस्थापनमा गर्दै आएको खर्च जोगिने छ । हाल धरान उपमहानगरपालिकाले बर्षिक करिब १ करोड २५ लाख रुपैया फोहोर व्यबस्थापनमा खर्च गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *