एनआइसी एसिया बैंक र बैंकर्स संघको विवादमा सेवाग्राहीलाई समस्या नपर्ने

फागुन २७, काठमाडौं । मुलुककै अग्रणी बैकक रुपमा उदाएको एनआइसी एसिया बैंकलाई बैंकर्स संघको गलत निर्णयले धरासायी बनाउने धेरैको गलत ठहर थियो । बैंकका विषयमा बजारमा फैलाईएका अफवाहले एनआइसी एसिया बैंकका ग्राहकमा समेत अन्यौलता छाएको थियो । तर, एनआइसी एसिया बैंकले आफ्ना ग्राहक तथा खातावालाहरुलाई कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

एनआइसी एसिया बैंकमा खाता भएका ग्राहकहरु नचाहिँदो प्रचारबाजीले बढी त्रसित देखिएका छन् । गलत हल्लाका कारण कतिपयले निक्षेप झिक्नसमेत थालेकोमा बैंकले कुनैपनि समस्या नआउने भनेको छ । बैंकर्स संघको निर्णयबाट एनआइसी एसियाका ग्राहकलाई कुनैपनि समस्या नहुने बैंकले जनाएको छ । एनआइसी एसियाले जारी गरेका चेकहरु अन्य बैंकले साट्नुपर्छ । एकाउन्ट पेयी चेक क्लियरिङ गर्न पनि कुनै समस्या नहुने बैंकले बताएको छ ।

२७ बैंकको नाकाबन्दीमा केबल अन्तर बैंकिङ कारोबार रोकिने हो । अन्तर बैंक कारोबार ग्राहकसँग प्रत्यक्ष सम्बन्धित् हुँदैन । एक बैंकले अर्को बैंकबीच आन्तरिक रुपमा हुने कारोबारमात्र हो, अन्तर बैंक कारोबार । यसबाट ग्राहकलाई कुनै पनि समस्या नहुने र ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको एनआइसी एसियाले जनाएको छ ।

सहमति विपरीत एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकसँग अन्तर बैंकिङ कारोबारमा रोक लगाएको थियो । बैंकर्स संघले तोकेको बचतमा ८ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने निर्णयको विरुद्धमा एनआइसी एसिया बैंकले बचतमा १० प्रतिशत र मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिन थालेपछि बैंकर्स सघंले अन्तर बैंकिङ कारोबारमा रोक लगाएको थियो ।

अन्तर बैंकिङ कारोबारमा रोक लगाए पनि बैंकका ग्राहक तथा बैंकमा सेवा लिने सेवाग्राहीलाई कुनै समस्या नपर्ने बैंकका प्रवक्ता सुधीरनाथ पाण्डेले बताए । उनले अन्तर बैंकिङ कारोबार रोकिँदा सर्वसाधारण सेवाग्राहीले पाउने सेवा कहीँ पनि नरोकिने स्पष्ट पारे ।

अन्तर बैंकिङ कारोबार रोक्का भएसँगै सर्वसाधारणले एकाउन्ट पेयी चेक साँट्न नपाउने हो कि भन्ने त्रास र हल्ला पनि बजारमा फैलिएको छ । तर बैंकका प्रवक्ता पाण्डेले सर्वसाधारण सेवाग्राहीमा केही पनि असर नगर्ने भन्दै यो विषयले सेवाग्राहीको सेन्टिमेन्टमा समस्या आएको हुनसक्ने तर बैंकिङ कारोबारमा कुनै समस्या नहुने बताए । ‘सेवाग्राहीमा एकाउण्ट पेयी चेक नसाटीने र क्लियरिन्स नहुने होकी भन्ने शंका उब्जीएको थियो । तर, कुनै समस्या छैन । पुरानै शैलीमा ग्राहकले सबै कारोबार गर्न पाउनुहुनेछ ।’ पाण्डेले भने ।

उनका अनुसार अहिले अन्तर बैंक कारोबार मात्र रोक्का भएको छ । बैंक–बैंकबीचको कारोबार रोक्का हुँदा सर्वसाधारणमा कुनै समस्या नहुने पाण्डेको भनाई छ । चेक सटहीमा समस्या हुँदैन । एकाउन्ट पेइ चेक क्लियरेन्समा पनि कुनै समस्या नभएको उनले बताए । उनले भने, ‘हामी अहिले पनि सेवाग्राहीलाई कसरी सहजै हाम्रा सेवा सुविधा दिने भन्नेमा नै चिन्तित छौं ।’

तर कतिपय बैंकका कर्मचारीले कुरा नबुझ्दा एकाउन्ट पेयी चेक नसाँटिएको पाइएको छ । कतिपय शाखामा एनआइसी एसियाका कर्मचारी अन्य बैंकको चेक साँट्न मानेका छैनन् भने अरु बैंकले पनि एनआइसी एसिया बैंकको चेक साँट्न मानेका छैनन् ।

उता, राष्ट्र बैंकले पनि बैंकर्स संघ र एनआइसी एसिया बैंकबीचको अहिलेको खिचातानीबाट सर्वसाधारण ग्राहकलाई कुनै पनि समस्या नपर्ने स्पष्ट पारेको छ । कुनै पनि बैंकले चेक साँट्दैनौं भन्न पाउँदैन । यो काण्डमा सर्वसाधारण लगानीकर्ता तथा सेवाग्राहीलाई केही पनि फरक पर्दैन । एकाउन्ट पेयी चेक पनि क्लियरेन्स गर्नुपर्छ । ग्राहकले एनआइसी एसियाको चेक लगेर अर्को बैंकमा सजिलै सटही गर्न सक्न सक्नेछन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकर्स संघ र एनआइसी एसियाबीचका खिचातानी संस्थागतरुपमा मात्र भएको बताए । यसमा सर्वसाधारण ग्राहकलाई कुनै पनि समस्या नपर्ने उनले बताए । कुनै पनि बैंकले चेक सटही नगर्ने वा ग्राहकसँग सम्बन्धित कुनै पनि काम गर्दिन भन्न नपाउने जानकारी गराए । यस्तो गरिएको भेटिएमा तत्काल कारवाही गरिने प्रवक्ता पौडेलले जिकिर गरे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *