चितवनमा ४२ केन्द्रमा १२ हजार बढीले एसईई परीक्षा दिँदै (समय तालिका सहित)

फागुन २६,भरतपुर । यही चैत आठ गतेबाट सुरू हुने एसईई परीक्षामा चितवन जिल्लाबाट १२ हजार १५० विद्यार्थी सहभागी हुने भएका छन् । उनीहरुको लागि जिल्लामा ४२ वटा केन्द्र तोकिएको छ । ‘एसईई परीक्षाको सम्पूर्ण तयारीका काम पूरा भएको छ ।

तोकिएका ४२ वटा केन्द्रमा उत्तरपुस्तिका पठाउने काममात्र बाँकी छ’ चितवनका जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरले भने, ‘अरु काम लगभग सकिएको छ ।’ यस वर्ष गत वर्षको तुलनामा ३ वटा केन्द्र थप गरिएको छ । गएको वर्ष चितवनमा ३९ वटा केन्द्र थिए ।

चितवनमा यस वर्ष नियमिततर्फ ११ हजार ९५३ जनाले एसईई परीक्षा दिँदैछन् । गत वर्ष नियमिततर्फ ११ हजार ८२८ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । यो वर्ष १८९ जना प्राविधिक धारका विद्यार्थी र १९७ जना एक्जाम्टेडका विद्यार्थी पनि एसईई परीक्षामा सहभागी हुँदैछन् ।

यस वर्षको एसईई परीक्षामा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘नियमिततर्फ ५ हजार ७९७ छात्र र ६ हजार १५६ छात्रा एसईई परीक्षामा सहभागी हुँदैछन्’ जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखाका नासु रघुनाथ अधिकारीले भने ।

यस वर्षको एसईईमा चितवनका १२१ संस्थागत विद्यालय, ९५ सामुदायिक विद्यालय, ५ प्राविधिक विद्यालय र १ खुला विद्यालयले सहभागी जनाउने अधिकारीले बताए । एउटा खुला विद्यालय चितवन माविले चलाएको छ । खुला विद्यालयमा आठ पास गरेर दुई वर्ष पुगेका विद्यार्थीहरु भर्ना भएर परीक्षा दिन सक्नेछन् ।

एक्जाम्टेड र प्राविधिक धारका ३८६ जना विद्यार्थीले भरतपुरको नारायणी मावि केन्द्र ‘ख’बाट एसईई परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा शाखाका ज्ञानहरि पौडेलले जानकारी दिए । उनले नारायणी माविमा २ वटा केन्द्र रहेको बताए ।
गत वर्ष जसरी यस वर्ष पनि ‘होम सेन्टर’ (विद्यार्थीले आफ्नै विद्यालयमा परीक्षा दिने) दिइएको छैन । यस वर्ष विश्वप्रकाश मावि मंगलपुर, नारायणी मावि भरतपुर र भीमोदय मावि पदमपुरमा केन्द्र थपिएको छ ।

यस वर्ष १० कक्षामा भर्ना भएर पनि विद्यालयमा हाजिर नपुगेका १९८ जनालाई एसईई परीक्षामा सहभागी नगराउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘१० कक्षामा भर्ना भएपछि विद्यालयमा ७५ प्रतिशत हाजिरी हुनुपर्छ । चितवनका १९८ जनाको हाजिर पुगेन । उनीहरुलाई परीक्षामा सहभागी गराइनेछैन’ परीक्षा शाखाका नासु रघुनाथ अधिकारीले भने ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ । परीक्षाको समयमा हुलहुज्जत गर्ने, चिट चोर्ने, चोराउन सहयोग गर्ने, परीक्षा दिँदा अरु परिक्षार्थीलाई सघाउन जस्ता क्रियाकलाप भए नियम बमोजिम कारबाही हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । प्राविधिकतर्फ चैत २० र अन्यको चैत १७ गते परीक्षा सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *