एक दिवसीय विश्वकप क्रिकेट: नेपालले आज स्कटल्याण्डको सामना गर्ने

काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ ।

प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ । तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सहज पक्कै पनि हुनेछैन ।

प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा स्कटल्याण्डले अफगानिस्तान र हङकङ्लाई पराजित गरेको थियो । आजको खेल जित्दै स्कटल्याण्ड पनि सुपर सिक्सको यात्रा निश्चित गर्न चाहन्छ । नेपालले समुहको तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा अन्तिम खेलमा हङकङ्को सामना गर्नेछ ।

बाँकी रहेका सबै तीन खेल जितेको खण्डमा सुपर सिक्समा नेपालको यात्रा निश्चित हुनेछ । कुनै एउटा खेल हारेको खण्डमा भने नेपालको यात्रा समुहका अन्य टोलीहरुको प्रदर्शनमा निर्भर गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *