अब्बासीको नेपाल भ्रमणले भारतमा किन उठ्यो तरंग ?

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी फागुन २१ र २२ गते दुई दिन नेपाल भ्रमण गरी स्वदेश फर्किए । तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोको सन् १९९४ मा भएको नेपाल भ्रमणपछि झण्डै २४ वर्षपछि प्रधानमन्त्री तहमा भएको उच्च कुटनीतिक भ्रमण भएको हो । निश्चय नै पाकिस्तानको उच्च तहबाट भएको भ्रमणले अर्थ र महत्व राख्छ । दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउने प्रयाससँगै क्षेत्रीय सम्बन्धमा नयाँ आयाम थप्न भ्रमणले प्रयास गरेको देखिन्छ ।
अब्बासीको यो भ्रमणले नेपाल र पाकिस्तानमा भन्दा बढी चर्चा भारतमा पाएको छ । अब्बासी नेपाल आएपछि भारतमा एकप्रकारको तरंग उत्पन्न भयो । त्यो तरंगले मुलतः दुईवटा कुरातर्फ संकेत गरेको देखिन्छ । पहिलो, अन्तर्राष्ट्रिय जगतमा नेपालको कुटनीतिक महत्व र क्षमता बढेकोछ भने दोस्रो, दक्षिण एशीयाली राष्ट्रहरुमा भारतको जुन हैकम कायम छ, त्यो गुम्ने र आफु एक्लो पर्ने हो कि भन्ने चिन्ता भारतलाई देखिन्छ । अथवा नेपालमा भारत भन्दा पाकिस्तान र चिन नै बढी सक्रिय हुन खोजेको भारतको बुझाई छ । त्यहाँका पत्रपत्रिकाहरुले पनि यही विषयलाई बढी महत्व दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आएकै दिन ईन्डिया डट कम नामक अनलाईनले ‘पाकिस्तानके प्रधानमन्त्री का वेलकम कर नेपाल ने भारतको चिढाया’ शीर्षक दिएर समाचार लेखेको थियो–  

“”पाकिस्तानका प्रधानमन्त्रीको यस यात्रामा भारतको नजर छ । विगत केही समयदेखि नेपालको झुकाव चीनतर्फ बढेको छ । केपी ओलीलाई चीननिकट मानिन्छ ।

यसअघि उनी प्रधानमन्त्री हुँदा उनको कार्यकालमा नेपाल भारत सम्बन्ध राम्रो रहेन । यस्तो स्थितिमा नेपाल र पाकिस्तानले हात मिलाए भने भारतका लागि खतरनाक हुन सक्छ ।

पूर्व विदेशसचिव कँवल सिब्बलले पाकिस्तानले जहिलेपनि भारतविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने र आतंकवादी संगठनहरूलाई समर्थन गर्ने बताए ।

चीन पनि पाकिस्तानलाई साथ दिइरहेको छ । मुम्बई आक्रमणका मास्टरमाइन्ड हाफिज सईदलाई संयुक्त राष्ट्रसंघको आतंकवादी सूचीमा राख्नका लागि भारतले गरेको प्रस्तावमा चीनले अवरोध गरिरहेको छ ।

चीन र पाकिस्तानसँग नेपाल नजिकिँदा भारतलाई अप्ठ्यारो पर्छ । नेपालले पहिले नै चीनको पेटी सडक परियोजनामा हस्ताक्षर गरिसकेको छ । जनवरी महीनाको शुरूआतमा चीनले नेपालमा रहेको भारतको इन्टरनेट एकाधिकार पनि तोडिसकेको छ । चीनले नेपालमा भारतसँगको सीमामा रेलवे लाइन बिछ्याइरहेको छ । “”

यस्तै, इन्डिया डट्कम तथा नवभारत टाइम्सको अन्लाइन संस्करणले यस विषयमा प्रकाशित गरेका समाचारमा पनि नेपाल र पाकिस्तानको सम्बन्धले भारतलाई झस्काएको विश्लेषण गरिएको छ ।

त्यसो त संविधानसभाबाट नयाँ संविधान घोषणा पश्चात भारतले नाकाबन्दी लगाएपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिनसँग गरेको पारबहन सन्धि विरुद्ध पनि भारतका सञ्चारमाध्यमले समाचार र विश्लेषण लेखेका थिए । नेपाल मामिलामा त्यहाँका प्रायः सञ्चारमाध्यमहरु सरकारकै बोलीमा बोली मिलाउने गर्दै आएका छन् ।

नेपाल भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले सार्कलाई सक्रिय बनाउन चाहेको सन्देश दिएका छन् । त्यसका लागि नेपालको भूमिका महत्वपुर्ण हुने अब्बासीको बुझाई छ । १९ औं सार्क शिखर सम्मेलनको आयोजक राष्ट्रका रूपमा पाकिस्तानले अवरुद्ध बनिरहेको सार्क प्रक्रिया र क्षेत्रीय समृद्धिका गतिविधि अघि बढाउन चाहेको स्पष्ट देखिन्छ । सन् २०१६, नोभेम्बरमा हुनुपर्ने भनिएको सार्क शिखर अहिलेसम्म ‘पोष्टपेन्ड’ अवस्थामा छ । भारत पाकिस्तानबिचको ‘काश्मिर’ तनावका कारण स्थगित सार्क शिखर सम्मेलन अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले गराउन पहल गर्न सक्ने पाकिस्ताको विश्वास देखिन्छ । यद्यपी यो विषयमा नेपालको भूमिका भने प्रभावकारी हुने सम्भावना न्युन छ ।

पाकिस्तान नेपालको नजिकको मित्र हो, तर पाकिस्तान वा अरु छिमेकी राष्ट्रले पनि नेपालसँग सम्बन्ध राख्न ‘इन्डिया–फ्याक्टर’ले भूमिका खेलिरहेको हुन्छ । तेस्रो मुलुकले नेपालसँग राख्न चाहने सम्बन्धमा मुलतः भारत अबरोधक बन्दै आएको छ । नेपालले भारतसँग बिशेष सम्बन्ध राखिरहोस् भन्ने भारतीय चाहना छ । त्यो विशेष सम्बन्ध भनेको भारतमाथिको पुर्ण निर्भरता कायमै रहोस् भन्ने हो ।

तर, पछिल्लो समयमा नेपाल–भारत सम्बन्ध यथास्थितिबाट माथि उठ्न प्रयास गरिरहेको छ । खासगरी नेपालले आफ्नो संविधान आँफै बनाएबापत भारतले जसरी नेपालमाथि नाकाबन्दी लगायो, त्यस विरुद्ध नेपाली जनतामा सुसप्त रहेको भारत विरोधी भावना जागृत भएर आयो । नेपालले केवल भारतसँग मात्र निर्भर रहन हुँदैन भन्ने कुरा स्पष्ट भयो । त्यही बाध्यतामा नेपालले चिनसँग पारवहन सम्झौता गरेको थियो ।

निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धन बनेपछि त्यसका विरुद्ध नेपाली काँग्रेसले राप्रपा तथा मधेशवादी दलहरुसमेतलाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाएको थियो । चिनतर्फ झुकाव राख्ने मानिएका नेता केपी ओलीको नेतृत्वमा बनेको वाम गठबन्धन विरुद्ध भारतपरस्त भूमिका खेल्दै आएका शेरबहादुर देउवाको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाइएको थियो । निर्वाचन नेपालको आन्तरिक अभ्यास भएपनि यसलाई भारत र चिनबिचको प्रतिष्पर्धाका रुपमा लिइयो । निर्वाचनमा वाम गठबन्धनको विजय भयो । भारतीय पक्षले यो परिणामलाई नेपाल मामिलामा आफ्नो हार र चिनको जितका रुपमा लियो ।

प्रधानमन्त्री केपी ओलीले आफु प्रधानमन्त्री बन्नु केही दिन अघि उत्तरी नाका कोरला पुगेर चिनिया रेल आउने बाटोको अवलोकन गरे । ओलीले चिनतर्फ फर्केर चिनको रेल आउने बाटो औंलाले देखाउँदै गर्दा खिचिएको फोटोले निकै चर्चा पाएको थियो । वास्तवमा प्रधानमन्त्री बन्न निश्चित भइसकेका ओलीले गरेको कोरला नाका निरिक्षणको बिशेष महत्व छ । उनले चिनतर्फ देखाउँदै भारतलाई यो सन्देश दिन खोजेका थिए कि नेपाल भारतसँको निर्भरतालाई तोडेर चिनसँग पनि सम्बन्ध राख्न चाहन्छ ।

ओली प्रधानमन्त्री बन्नु अघि वाम गठबन्धन फुटाएर नेपाली काँग्रेस तथा मधेशवादी दलहरुसमेतलाई सहभागी गराई प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास भएको थियो । जुन प्रयास सफल हुन सकेन । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई टेलीफोन गरी दुई पटकसम्म बधाई दिएका थिए । त्यतीमात्र होईन भारतीय प्रधामन्त्रीको बिशेष दुतका रुपमा विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएकी थिईन् । प्रधानमन्त्री नबन्दै ओलीको निमन्त्रणामा आएकी स्वराजले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा वा नेपालको संस्थापन पक्षलाई भन्दा ओलीलाई महत्व दिएको स्पष्ट देखिन्थ्यो ।

चिन र पाकिस्तानबिचको सम्बन्धलाई भारतले मन पराइरहेको त छैन नै । त्यसमाथि नेपाल– पाकिस्तान सम्बन्धले दक्षिण एसियामा चिनिया प्रभाव बढ्दै जाने र भारत एक्लिंदै जाने भारतीय बुझाई देखिन्छ । पछिल्ला वर्षहरूमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सँगको प्रतिबद्धता र व्यापार–पारवहनसँग जोडिएको उत्तरी नाकासँगको नेपालको बढ्दो सम्बन्धका कारण भारत सशंकित बन्दै गएको छ । पाकिस्तानले चिनियाँ सहयोगमा १३ सय किलोमिटर लम्बाइको विश्वमै प्रतिष्ठित काराकोरम हाइवे निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ भने अहिले चीनकै सहयोग–भरथेगमा पाकिस्तानले बन्दरगाह, सडक, उद्योग, निर्माणका दर्जनौं योजना अघि बढाइरहेको छ । यसरी नेपाल र पाकिस्तानका निम्तिसमेत ‘चीन फ्याक्टर’ले जसरी प्रत्यक्ष काम गरिरहेको देखिन्छ, यो विषय भारतका निम्ति चुनौतीको विषय बनेको छ ।

उत्तर दक्षिण सीमा जोडिएका दुई बिशाल राष्ट्रहरुको प्रत्यक्ष प्रभाव रहेको नेपालमा छिमेकी पाकिस्तानका प्रधानमन्त्री तहबाट भएको यो भ्रमणले नेपालको महत्व त बढाइदिएको छ नै, नेपालमा पाकिस्तान समेत सक्रिय हुन खोजेको देखिन्छ । नेपालमा चिन र पाकिस्तानको सक्रियता भारतका लागि सह्य हुनेछैन । जसको संकेत प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणले भारतमा सानोतिनो भुईंचाले ल्याएरै देखाइसकेको छ ।

तर, नेपालले कुनै पनि छिमेकी राष्ट्रसँगको सम्बन्धलाई धेरै नजिक वा टाढा बनाउन आवश्यक छैन । जतिबेला नेपालमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सञ्चालन गरेका थिए, सबैभन्दा पहिले चिन र पाकिस्तानले नै स्वागत गरेका थिए । अहिले वाम गठबन्धनको सरकार बन्दा पनि सबैभन्दा अघि सरेर यिनै देशले समर्थन गरेका छन् । अतः अन्य देशले दिने समर्थन, स्वागत वा सहयोग ति देशको आफ्नो स्वार्थ बमोजिम हुन्छ भन्ने कुरा बिर्सन हुँदैन । सम्बन्ध जहिल्यै पनि समदुरीमा र देशहितमा कायम गरिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *