उत्तर कोरिया परमाणु हतियारसम्बन्धी आफ्नो कार्यक्रम त्याग्न तयार

काठमाडौं, फागुन २३ । उत्तर कोरियाले परमाणु हतियारसम्बन्धी आफ्ना कार्यक्रम त्याग्न सक्ने जनाएको छ । देशको सुरक्षा ग्यारेन्टी हुने हो भने परमाणु कार्यक्रम आफ्ना लागि आवश्यक नरहने उत्तर कोरियाको भनाइ छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग यी योङ्गसँगको छलफलमा यस्तो भनाइ राखेका हुन् । आफ्नो मुलुकलाई दिइदैं आएको सैन्य धम्की बन्द हुने हो र देशको सुरक्षाको ग्यारेन्टी हुने हो भने आफ्ना सबै परमाणु कार्यक्रम त्याग्न सक्ने उत्तर कोरियाली नेताको भनाइ थियो ।

सो भेटवार्तापछि दक्षिण कोरियाले उत्तर कोरिया परमाणु हतियार र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन तयार रहेको जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार योङ्गका अनुसार अमेरिकासँगको सम्बन्ध सामान्य तुल्याउन उत्तर कोरिया छलफलका लागि समेत राजी भएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध कुनै प्रकारको पारम्परिक वा परमाणु हतियार प्रयोग नगर्ने प्रतिबद्धतासमेत जनाएको उनले बताए । दुवै देश अप्रिलको अन्त्यसम्ममा वार्ताका लागि सहमत भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाद्वारा परमाणु कार्यक्रम छोड्ने सम्बन्धमा राखिएको प्रस्तावमाथि सतर्कतापूर्वक प्रतिक्रिया दिदैं ‘झुठो आश्वासन’ नहोस् भन्ने कामना गरेका छन् ।

वासिंटनमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘उत्तर कोरियाका सम्बन्धमा हामीले लामो बाटो तय गरिसकेका छौं, दक्षिण कोरिया र उत्तर कोरियाबाट आइरहेका धारणा सकारात्मक छन्, विश्वका लागि यो ठूलो उपलब्धि हुनेछ ।’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *