राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन, भण्डारीलाई दोहो-याउने एमालेको निर्णय

काठमाडौं, फागुन २३ ।  राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । फागुन २९ मा हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ  ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार भोली साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदाताको अन्तिम सूची हिजै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई सर्वाेच्च अदालतको अन्तरिम आदेशले शपथ रोकिएका कारण मतदाता हुन पाउनुभएन । प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले सजाय सुनाएपछि कानुनत निलम्बित भएका छन् ।

प्रतिनिधिसभा सदस्य रेशम चौधरीको नाम मतदाता सूचीमा भए पनि उनी पुर्पक्षका लागि थुनामा रहेकाले मतदान गर्न पाउने छैनन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र तोकिएको छ ।  राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापनापछि कांग्रेस नेता डा. रामवरण यादव पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति निर्वाचित हुनु भएको थियो । नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन व्यवस्था अन्तर्गत झन्डै साढे दुई वर्षअघि तत्कालीन संसद्बाट भण्डारी राष्ट्रपति निर्वाचित हुनुभएको थियो । अब पाँच वर्षेकार्यकालका लागि राष्ट्रपति चयन हुन लागेको हो  ।

यस्तै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो । साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा भण्डारीलाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो ।

बालुवाटार बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ । उपराष्ट्रपतिमा माओवादी केन्द्रले उम्मेदवार तोक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *