प्रदेश ७ का मुख्यमन्त्री भट्टले लिए विश्वासको मत

धनगढी, फागुन २२ । प्रदेश नं ७ को सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गरेका छन् । प्रस्तावको विपक्षमा १० मत परेको थियो ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा मुख्यमन्त्री भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ र प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमा प्रदेश सभा सदस्यद्वय नेकपा माओवादी केन्द्रका वीरभान चौधरी र नेकपा एमालेका तारा लामा तामाङले समर्थन जनाएका थिए ।

सभामुख थापाले प्रस्तावको पक्षमा ३८ मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेकाले मुख्यमन्त्री भट्टको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

प्रस्तावको पक्षमा एमाले र माओवादी केन्द्र उभिएका थिए भने विपक्षमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी थिए । प्रदेश सभामा कूल ५३ प्रदेश सदस्यमध्ये आजको बैठकमा ४९ सदस्य उपस्थित रहेकामा काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम र गोविन्दराज बोहरा अनुपस्थित थिए ।

प्रदेश सभाको अर्को बैठक यही फागुन २६ गते दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *