को बन्ला तेस्रो राष्ट्रपति ?

काठमाडौं, फागुन २२ । यही फागुन २९ गते नेपालको तेस्रो राष्ट्रपतिका लागि चुनाव हुँदैछ । त्यसका लागि भोली २३ गते मनोनयन दर्ता हुँदैछ । संसदमा एमाले र माओवादी सम्मिलित वाम गठबन्धनको स्पष्ट बहुमत छ । त्यसकारण वाम गठबन्धनले अघी सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने छ । वाम गठबन्धनका तर्फबाट राष्ट्रपति एमालेको भागमा परेकोले एमालेले नै राष्ट्रपतिको उम्मेदवार अघि सार्नेछ ।

भोली हुने राष्ट्रपति पदको मनोनयनका लागि अहिले नेकपा एमालेको स्थायी कमिटीको वैठक बस्दैछ । उपराष्ट्रपति भने माओवादी केन्द्रको भागमा परेको छ । जसको निर्वाचन केही दिनपछि हुने भएकाले अहिले तत्काल उपराष्ट्रपतिबारे त्यति धेरै चर्चा छैन ।

एमाले र माओवादी भित्र बर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै दोहोरिने चर्चा पनि चलेको छ । तर, अरु नेताहरुको पनि स्वभाविक आकांक्षा देखिएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि उम्मेदवार बनाउने तयारी समेत भैरहेको र झलनाथ खनालको पनि इच्छा भएकाले कसलाई छान्ने भन्ने एमालेले आज टुंगो लगाउँदैछ ।

राष्ट्रपतिका लागि यिनै दुई नेताले आकांक्षा देखाएकाले सम्भवत यिनै दुईमध्ये एकजना राष्ट्रपति बन्नेछन् । यदी सहमती हुन नसके एमालेले तेस्रो ब्यक्तिलाई पनि अघि सार्न सक्छ । यदी त्यसो भएमा सुवास नेम्वाङको पनि सम्भावना रहेको छ ।

यता, माओवादी केन्द्रले पनि एमालेको राष्ट्रपति छनौटको निर्णय हेरेर उपराष्ट्रपति उम्मेदवार छान्ने बुझिएको छ । एमालेले भण्डारीलाई उम्मेदवार बनाएमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहोर्याउने देखिएको छ । एमाले स्थायी कमिटिको वैठक दिउसो ४ बजेबाट पार्टी कार्यालय धुमबाराहीमा बस्दैछ । सम्भवत आज नयाँ राष्ट्रपतिको अनुहार जनतासामु आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *