भोलीदेखि साझाका ‘सेमी लो–फ्लोर’ बस चल्ने, यस्ता छन् सुविधा

काठमाडौं, फागुन २२ । साझा यातायातले बुधबारबाट ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याउने भएको छ । शारीरिक अपाङ्गता भएका, कम उचाइ भएका र जेष्ठ नागरिकको सहज बस यात्राका लागि यस्तो प्रकारको बस उपयोगी र सजिलो हुने साझा यातायातले जनाएको छ ।

युरो ४ मापदण्डको वातावरणमैत्री र कम उचाइका यात्रु पनि सजिलै चढ्नसक्ने उक्त बस नेपालमै पहिलो पटक साझा यातायातले सञ्चालन गर्ने भएको हो ।

ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भोलि नै यस बसको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

बिरामीहरूलाई एक अस्पतालबाट अर्को अस्पतालसम्म पुर्याउन यातायात व्यवस्था कार्यालयबाट सोहीअनुसारको रुट स्वीकृति लिएर बस सञ्चालन गरिएको उनले बताए । बिरामीहरूलाई मध्यनजर गर्दै लगनखेलको पाटन अस्तपाल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज कान्ति बाल र शिक्षण अस्पताल हुँदै बाँसबारी गङ्गालाल अस्पताल रुटमा बस सञ्चालन हुने पाण्डेयले बताए ।

चालकसहित ४१ सिट क्षमता रहेको यस ‘सेमी लो फ्लोर’ बसमा दुई सिटको बीचमा रहेको प्यासेजको क्षेत्रफल फराकिलो भएकाले अपाङ्गता भएका यात्रुका लागि ह्विलचियरसमेत बसभित्र नै अटाउने सुविधा रहेको छ ।

सरकारले तोकेको यात्रा शुल्कबराबरको टिकट दिइने, सिसिटिभिको व्यवस्था रहेको र २० यात्रु उभिन सक्ने यस बसले १ पटकमा ८० भन्दा बढी यात्रु ओसार्न सक्ने क्षमता रहेको साझा यातायातले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *