व्यवस्थित हुन सकेन नारायणगढ बजार

भरतपुर, फागुन २० । स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाएको ६ महिनाभन्दा बढी हुँदा पनि भरतपुर महानगरको मुख्य बजार नारायणगढ व्यवस्थित हुन सकेको छैन ।

नारायणगढको फुटपाथमा व्यवसाय गर्नेहरु बढिरहेका छन् । महानगरले एक दिन प्रहरी लगाएर फुटपाथका व्यवसायीलाई हटाए पनि उचित व्यवस्थापन गरिसकेको छैन । ठेला व्यवसायीहरु पनि सडकभर छरिएर व्यवसाय गरिरहेका छन् । भरतपुर महानगरले अटो रिक्साहरुलाई मुख्य राजमार्गमा जोरबिजोर प्रणाली लगाए पनि कार्यान्वयनमा आउन सकेन ।

बजारका ढलहरु फुटेर चौपट भएको छ । सडकमा छोडुवा चौपायाले कुन बेला ठूलो दुर्घटना निम्त्याउने हो पत्तो छैन । सहिदचोकबाट मिलन रोडतर्फको सडक र बेलचोकतर्फ जाने सडक भत्केर ठाउँठाउँमा भ्वाङ परेको छ । लायन्चचोकदेखि पुलचोकसम्मको पोलमा राखिएको लाइट एउटा पनि बल्दैन । पार्किङको लागि महानगरले उचित ठाउँ तोके पनि नारायणगढ बजारमा अझै पनि मनोमानी तरिकाले पार्किङ भइरहेको देखिन्छ ।

‘सोचजस्तो काम भएको देखिएन । बजार सफा, सुन्दर र व्यवस्थित हुन सकेको छैन’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले भने, ‘व्यवसायीको तर्फबाट हामीले नारायणगढलाई सफा, सुन्दर बनाउन भनिरहेका छौँ, तर पनि बजारमा परिवर्तन देखिएको छैन ।’

अध्यक्ष प्रधानले उज्यालो नारायणगढ हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले भने, ‘लायन्सचोकदेखि पुलचोकसम्मको सडकमा एउटा लाइट बल्दैन, पाइलापिच्छे फुटपाथ व्यवसायीहरु भेटिन्छन् । फुटेका ढलहरु अझै बनेका छैनन् ।’ सफा, सुन्दर र व्यवस्थित सहर अझै हुन नसकेको अध्यक्ष प्रधानको भनाइ थियो ।

‘महानगर र व्यवसायीबीच निरन्तरजस्तो छलफल भइरहेको छ, हामीले सुझाव र सल्लाह दिइरहेका छौँ’ अध्यक्ष प्रधानले भने, ‘आशा गरौँ, महानगरले बजारलाई छिटै व्यवस्थित बनाउनेछ ।’

भरतपुर महानगरले बजार व्यवस्थित हुँदै गइरहेको बताएको छ । ‘सडकमा हुने अव्यवस्थित पार्किङको समस्या हटेको छ, फुटपाथका व्यवसायीहरुको उचित ठाउँको खोजी भइरहेको छ’

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भनिन्, ‘उचित ठाउँ दिएर मात्र फुटपाथका व्यवसायीलाई हटाइन्छ । जहाँसम्म सडक र ढलको नयाँ निर्माणको कुरो छ, यो प्रक्रियामार्फत जाँदा केही समय अझै लाग्ने देखिन्छ ।’ उनले सफा, सुन्दर र हराभरा महानगर बनाउन गुरुयोजना बनाएर अघि बढ्ने बताइन् । उनले केही दिनअघि नारायणी नदी किनार सफा गरेर सहरलाई सुन्दर बनाउनुपर्छ भन्ने सन्देश दिएको बताइन् ।

‘ठूला योजनाहरु सम्पन्न गर्न केन्द्र सरकारको मुख ताक्नुपर्छ, केन्द्रमा पनि सरकार पूर्ण भइसकेको छैन’ प्रमुख दाहालले भनिन्, ‘हामीले पनि देखिने गरी काम गर्न सकेका छैनौँ, जनताले देखिने गरी काम गर्नुपर्छ भनेर महानगर अघि बढिरहेको छ ।’

भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले नारायणगढ बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगर र वडा कार्यालय लागिरहेको दाबी गरे । उनले भने, ‘फुटपाथ व्यवसायीका कारण बजार भद्रगोल देखिएको हो, अब उचित ठाउँ खोजेर उनीहरुको व्यवस्थापन गरियो भने बजार सुन्दर देखिन्छ ।’ उनले फुटपाथ व्यवसायीहरुको लागि महानगरपालिकाले ठाउँ खोजिरहेको बताए । वडाध्यक्ष पण्डितले भने, ‘हामीले ठाउँ खोजिरहेका छौँ, दुई तीन ठाउँमा कुरा भइरहेको छ, तर फिक्स हुन बाँकी छ । एक हप्तामा उचित ठाउँको टुङ्गो लगाउँछौँ ।’ वडाध्यक्ष पण्डितले फुटपाथका व्यवसायीलाई उचित गन्तव्य दिए बजार धेरै हदसम्म व्यवस्थित देखिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *