प्रेमिकालाई कालीगण्डकीमा फाल्ने पराजुली थुनामा

काठमाडौं, फागुन २१ । प्रेमिका गर्भवती भएको खुलासा भएपछि हत्या गर्ने पर्वतका प्रदीप पराजुलीलाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय पराजुलीले बागलुङ जैमुनी नगरपालिका–८, घर भएकी २२ वर्षीय कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर पराजुलीले कालीगण्डकी नदीमा बगाएका थिए ।

गएको ५ माघमा शर्मा र पराजुली पर्वत र गुल्मी जिल्लाको सीमाना जोड्ने कालीगण्डकी पूर्तिघाट झोलुङ्गे पुलमा सँगै भेट भएका र युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै हत्या गरेको प्रहरीले जनाएको थियो ।

पराजुलीले परिवारसामु आफैले हत्या गरेको बताएपछि उनी प्रहरी हिरासतमा पुगेका थिए । प्रहरीसमक्ष समेत पराजुलीले आफैले मारेको बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर गरेको थियो ।

सोही मुद्धा उपर थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले पराजुलीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।

माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब ५ दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी इकाइहरुबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४, घुमाउनेमा १७ माघमा फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *