टिकापुर तनावग्रस्त, मेयरको घर घेराउ

टिकापुर, फागुन २० । टिकापुरमा युवकको हत्या भएको ४ दिन भैसक्दा सम्म प्रहरीले हत्यारालाई सार्वजनिक नगरेको र राजनैतिक संरक्षणमा उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयले प्रसासन विरुद्ध प्रर्दशन गरेका छन् । प्रदर्शनका कारण टिकापुर तनावग्रस्त बनेको छ ।

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ। मृतक परिवार र स्थानीयबासीले आइतबार दिउँसो टीकापुर १ स्थित मेयर रावल घर अगाडि प्रदर्शन गरेका हुन्।

स्थानीयले जनता मार्ने नेता चाहिदैन, प्रहरी प्रशासन मुर्दाबाद, हत्यारालाई सार्वजनिक गर जस्ता नारा सहित बजार बन्द गरेर बिहान देखी विरोध प्रर्दशन जारी राखेका छन्। यता कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अनुसन्धानका क्रममा शनिबार नै हत्यामा दुई जनाको संलग्नता प्रमाणित भैसकेको बताएका छन् ।

पक्राउ गरिएकाहरुको सार्वजनिक नगरिदा मिलोमतोमा घटना दबाउन खोजिएको भन्दै पिडित पक्षले आज बिहान देखि नै इलाका प्रहरी कार्यालय टीकापुर अगाडी धर्ना दिइरहेका छन् । घटनाको अहिले सम्म कुनै निष्कर्ष नआउँदा टीकापुर तनावग्रस्त बन्दै गएको छ ।

टीकापुरमा अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । तर आन्दोलनकारीले हत्यारा सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले माइकिङ गर्दै बजार, शैक्षिक संस्था, कलकारखाना बन्द गरी अन्यायको विरुद्धमा लागि सहयोग गर्न टीकापुरबासीसंग माग गरेका छन् ।

गत फागुन १७ गते राति टीकापुरमा होलि पुर्ब संध्यामा सितापुरका २२ वर्षिय करण थापाको हत्या भएको थियो ।

मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै पोष्टमार्टम गर्न दिएका छैनन्। एसपी  घिमिरेले आजै मृतकका बुबा भारतबाट पुग्ने र पोष्टमार्टम गरिने बताए। मृतकका बुबा रोजगारीका क्रममा भारतमा थिए।

 

एसपी घिमिरेले तीन दिनभित्र हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने लिखित सहमति भएको जानकारी दिए। उनले सहमतिसँगै मृतकका आफन्तले आन्दोलन स्थगित गर्ने बताए।

करिब १५ हजार मान्छे जम्मा भएको ठाउँमा केही व्यक्तिले धारिलो हतियार प्रहार गरेर थापाको हत्या गरेका थिए। उनको टाउको, पेट, छाती र पिठ्युँ गरी पाँच ठाउँमा प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *