‘एक वडा दस युवा’ कार्यक्रम शुरू

भरतपुर, फागुन २० । जिल्ला युवा समितिको कार्यालय भरतपुरले युवालाई उद्यमशील बनाउने योजना शुरू गरेको छ । चितवनको तीन निर्वाचन क्षेत्रमा जिल्ला युवा समितिले ‘एक वडा दस युवा’ कार्यक्रम शुरू गरेको हो ।

युवा समितिका कार्यालय प्रमुख भूमिलाल सुवेदीले तत्काल तीन निर्वाचन क्षेत्रका प्रत्येक वडाका १० युवालाई उद्यमशील बनाउने योजना शुरू गरेको बताए । जिल्ला युवा समितिले राष्ट्रिय युवा परिषद्को स्थापना दिवसको अवसरमा गरेको अन्तक्र्रिया कार्यक्रममा कार्यालय प्रमुख सुवेदीले युवालाई उद्यमशील बनाउने विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

जिल्ला युवा समितिले युवाका मुद्दा र युवा लक्षित कार्यक्रमहरु गर्दै आएको छ । कार्यालय प्रमुख सुवेदीले जिल्ला युवा समितिबाट युवालाई सीपमूलक तालिम दिएर स्वदेशमै स्वरोजगार बनाउने काम भइरहेको बताए । समितिले हाल युवा उद्यम विकास कार्यक्रम गरिरहेको छ ।

‘युवा समितिको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत ५० जना युवाहरु उद्यमशील भएका छन्’ कार्यालय प्रमुख सुवेदीले भने, ‘युवा समितिले चितवनका युवाहरुलाई उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिमहरु दिइरहेको छ ।’ युवालाई उद्यमशील बनाउन बाख्रापालन, माछापालन, तरकारीखेती, व्यूटिपार्लरलगायतका तालिमहरु जिल्ला युवा समितिले चलाइरहेको छ ।

वैदेशिक रोजगारमा जानेहरुलाई स्वदेशमै सीप सिकाएर स्वरोजगार बनाउन युवा समितिले थप कार्यक्रम ल्याउने भएको छ । ‘हामीले यसको लागि थप बजेट ल्याउन पहल गरिरहेका छौँ’ कार्यालय प्रमुख सुवेदीले भने । उनले अब आउने युवालक्षित कार्यक्रमहरुले युवालाई स्वरोजगार बनाउने बताए । उद्यमशील कार्यक्रममा १८–४० वर्षभित्रका युवाहरु सहभागी हुने उनको भनाइ थियो ।

सफल युवा उद्यमीलाई जिल्ला युवा समितिले सम्मान गर्दै आएको छ । ‘यस वर्ष हामीले ३ जना सफल उद्यमीलाई सम्मान गरेका थियौँ’ उनले भने । युवा समितिले सफल उद्यमी राजराम परियार, अर्जुन लामिछाने र राजेशकुमार विश्वकर्मालाई सम्मान गरेको थियो । यसअघि युवा समितिले युवा महोत्सव कार्यक्रमअन्तर्गत खुला दौड, सरसफाइ कार्यक्रम, वक्तृत्व कला, लागूपदार्थ दुव्र्यसन र त्यसको असर परिणाम र सतर्कतालगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *