निकुञ्ज, सेना र समुदायको सम्बन्धले ‘शून्य चोरीशिकार वर्ष’

रत्ननगर, फागुन २० । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धले शून्य वन्यजन्तु चोरीशिकार वर्ष मनाउन पाएको छ ।

वन्यजन्तु संरक्षणकर्मीहरुले तीन निकायका सार्थक सम्बन्धका कारण पछिल्ला वर्षमा शून्य चोरी शिकार मनाउन पाएको हो । निकुञ्ज, नेपाली सेना र समुदायबीचको त्रिकोणात्मक सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने संरक्षणकर्मीको भनाइ छ ।

‘निकुञ्जको वन्यजन्तु संरक्षणका लागि यो त्रिकोणात्मक सम्बन्ध अनन्तकालसम्म जीवित रहन जरुरी छ’ निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत तथा संरक्षणविद् रामप्रित यादवले भने, ‘त्यसो हुन सकेमा हामीले वन्यजन्तुलाई जोगाउन सक्छौं ।’ निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धका कारण चितवन निकुञ्जले शून्य चोरीशिकार वर्ष मनाउन सफल भएको उनले बताए ।

‘विगतका वर्षमा चोरीशिकारीको बिगबिगी भएका कारण चितवन निकुञ्जमा एक महिनामै १० वटासम्म गैंडा शिकारीले मारेको दुःखदायी अवस्था थियो’ उनले भने, ‘तर अहिले शून्य चोरी शिकार वर्ष मनाउन पाइएको छ ।’

नेपाली सेनाले निकुञ्ज भित्र गस्ती तथा निगरानी गर्ने, समुदायले मध्यवर्ती क्षेत्र भित्र चेतना फैलाउन र खबरदारी गर्ने तथा निकुञ्जले संरक्षणको काममा आवश्यक सहयोग गरेका कारण वन्यजन्तु संरक्षणमा सफलता हात परेको संरक्षणकर्मीको भनाइ छ ।

त्रिकोणात्मक सम्बन्धका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरीशिकार वर्ष मनाउन सुरू गरेको संरक्षणविद् यादवले बताए । उनले बासस्थान विनास, चोरीशिकार र राज्यको कच्चा कानुनका कारण दुर्लभ वन्यजन्तुको प्रजाति लोप हुँदै गएको बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले वन्यजन्तु संरक्षणमा निकुञ्ज सफल भएको बताए । ‘संरक्षणमा सफल हुनमा समुदायको भूमिका अहम् छ’ उनले भने, ‘तपाइँहरुकै कारण यहाँका वन्यजन्तु जोगिएका छन् ।’ शिकारीले गैंडा मारेको छैन भनेर अझै पनि ढुक्क भएर
बस्ने अवस्था नरहेको भन्दै उनले सरोकारवाला सबै चनाखोसँगै खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलले संरक्षणमा समुदायको भूमिकालाई सरकारले आत्मसात् गर्नुपर्ने बताइन् । संरक्षणमार्फत मुलुकको समृद्धि सम्भव रहेको भन्दै उनले यसको उपयोग गर्न जान्नुपर्ने विचार व्यक्त गरिन् ।

नेपालको जैविक विविधतालाई मुलुकको आर्थिक र सामाजिक विकाससँग जोड्नु पर्ने बताइन् । ‘जैविक विविधता नरहे मानव जीवन रहँदैन’ उनले भनिन्, ‘आफू बाच्नका लागि पनि प्रकृतिको संरक्षण गर्न जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *