नारायण–मुग्लिन सडकखण्डमा एक हजार चार सय गाडी रोकिए

चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।

नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उनले बताए ।

ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो । त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो । जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन रोकिएको प्रहरी निरीक्षक पन्तले बताए ।

बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले जानकारी गराए ।

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो ।

दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिम ९आरआरटी० को व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उनले बताए । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए ।

तीनवटा समूहले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेसम्ममा राति रोकिएका सबै सवारीले सडक पार गरिसक्ने ट्राफिक प्रहरी प्रमुख पन्तले बताएका छन् ।

हालसम्म उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *