मेरुदण्ड बचाउन थाहा पाउनुहोस् १० सूत्र

काठमाडौं, फागुन २० । हाम्रो शरीर मेरुदण्डको सहारामा उभिएको हुन्छ । त्यसैले पनि शरीरका लागि मेरुदण्ड अति महत्वपूर्ण अंग हो । कहिलेकाहीँ मेरुदण्डमा देखिने सामान्य समस्याले पनि दैनिक काममा बाधा उत्पन्न हुन्छ । त्यसैले मेरुदण्डको सुरक्षाप्रति मानिस सचेत हुन आवश्यक छ । कतिपय लापरबाहीका कारण मेरुदण्डबारे विभिन्न समस्या उत्पन्न हुन सक्छ । मेरुदण्डलाई स्वस्थ राख्न स्पाइन सर्जन डा. गौरवराज ढकालले केही टिप्स दिएका छन् :

स्वस्थ शरीरका लागि नियमित मर्निङवाक अत्यन्तै आवश्यक छ । बिहान उठेर कुद्ने बानी अझ राम्रो । ३० मिनेटको वाकपछि अन्य एक्सरसाइज गर्नुपर्छ । बिहान उठेर ब्याडमिन्टनलगायतका खेल खेल्दा पनि शरीर फूर्तिलो हुन्छ । यस्तो बानीले मेरुदण्डलाई पनि बलियो बनाउँछ ।

मानिसलाई बिहानको खाजा निकै महवपूर्ण हुन्छ । त्यसैले एक्सरसाइजपछि खाँदा राम्रो । बिहानको खाजामा कार्बोहाइड्रेड कम भएका खानेकुराको प्रयोग गर्नुपर्छ । कर्नफ्लेक्स, अन्डा, उसिनेका सागसब्जीलाई बिहानको खाजामा प्रयोग गर्दा निकै उपयुक्त हुन्छ । यसो गर्दा मेरुदण्डमा सकारात्मक प्रभाव पर्छ ।

अफिसमा काम गर्ने मानिस अर्थात् लामो समय कुर्सीमा बसेर काम गर्नेहरूलाई मेरदण्डसम्बन्धी समस्या देखा पर्न सक्छ । त्यसैले हामी बस्ने कुर्सी पनि वैज्ञानिक हुनुपर्छ । ढाडलाई सपोर्ट गर्ने खालको कुर्सी प्रयोग गर्नुपर्छ । कम्प्युटरको स्क्रिन र आँखाको लेभललाई समानान्तर राख्नुपर्छ ।

आधा घन्टा, ४५ मिनेट कुर्सीमा बसेपछि केही समय टहलिनुपर्छ, शरीरलाई तन्काउनु पर्छ । सकेसम्म लिफ्ट चढ्नु हुँदैन । २–२ घन्टाको अन्तरालमा केही न केही स्वस्थकर खानेकुरा खाँदा राम्रो ।

शारीरिक एक्टिभिटीलाई बढाउनुपर्छ । कतिपयको छोटो दूरीका लागि पनि गाडी चढ्ने बानी हुन्छ । जसले स्वास्थ्यलाई त्यति राम्रो गर्दैन । बरु हिँड्ने बानीको विकास गर्नुपर्छ । सकिन्छ भने दैनिक २–३ घन्टा मेरुदण्डका लागि निकै राम्रो मानिन्छ ।

बिदाको समयमा घुम्न जाने, गेम खेल्ने, पिकनिक, स्विमिङ, हाइकिङ जानेजस्ता गतिविधि गर्दा पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । बिदाको समय परिवारसँगै रमाउने वातावरण सिर्जना गर्दा राम्रो हुन्छ ।

मेरुदण्ड बचाउन धूम्रपान र मध्यपान गर्नु हुँदैन । यस्तो लत भए तत्काल नै त्याग्ने अठोट लिनुपर्छ । मध्यपान र धूम्रपान मेरुदण्डका लागि निकै हानिकारक छ ।

घरमा निहुरिएर गर्नुपर्ने धेरै काम हुन्छन् । प्रायः यस्ता काम गृहिणीको जिम्मामा हुन्छ, जस्तो कि घर लिप्ने, पुछ्ने, कुचो लाउनेजस्ता गतिविधि । यस्ता काम लामो समयसम्म गर्नु हुँदैन ।

कपडा धुँदा टेबलमाथि बाटा राखेर धुने गर्दा राम्रो हुन्छ । जसले मेरुदण्डको सम्भावित समस्याबाट बचाउँछ । धेरै गह्रौँ सामान एकैपटक उचाल्नेजस्ता गल्ती पनि गर्नु हुँदैन । उचाल्नैपरे थोरै–थोरै मात्रामा उचाल्नुपर्छ ।नयाँ पत्रिकाबाट

अग्लो सिरानीमा सुत्नु पनि मेरुदण्डका लागि हानिकारक मानिन्छ । सफ्ट खालको सिरानीको प्रयोग गर्नुपर्छ । सुत्ने म्याट्रेस, बेडचाहिँ बढी सफ्ट वा अत्यन्त कडा पनि प्रयोग गर्नु हुँदैन । यसले ढाड दुख्ने समस्या निम्तिन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *