सबैलाई जोड्ने होली पर्व, चितवनमा बन्याे शान्त

भरतपुर,फागुुन १८ । चितवनमा दुई दिन मनाइने सबैलाई जोड्ने पर्व होली यसपटक जिल्लावासीको लागि शान्त बन्यो ।

चितवन प्रहरीको सक्रियताले यस वर्ष कतै कुनै किसिमका अप्रिय घटना घटेनन् । जिल्लाभरी नै हौलीको सभ्य रौनक देखियो । विभिन्न समूहहरुले बडो भद्र तरिकाले होली पर्व मनाए । ‘यस वर्ष प्रहरीको कडा जाँचले जिल्लामा कुनै किसिमको घटना घट्न पाएन’ चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने । उनले चितवनमा होलीको पहिलो दिन बिहीबार ३७ वटा मोटरसाइकल बरामद गरिएको बताए ।

‘कागजात नबोकेका, तीन जना चढेका, हेलिमेट नलगाएका, उछृंखल तरिकाले हाँकेका ३७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो’ एसपी दीपक थापाले भने, ‘सात जना मापसे गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।’ उनले चितवनमा दुई दिन होली पर्व मनाउने हुनाले आज पनि सुरक्षा व्यवस्था कडा रहेको बताए ।

नारायणगढ, भरतपुर, रत्ननगर, पर्सा खैरहनी, भण्डारा, चनौली, गीतानगर, रामपुर, मुग्लिनलगायतका ठाउँमा होली पर्वको रौनक देखिएको थियो । बजारका पसल मात्र होइन, फुटपाथमा समेत होलीमा प्रयोग हुने रंग, पिचकारी, तथा टिर्सटको कारोबार भइरहेको देखिन्थ्यो । होली मनाउने समूहले विभिन्न चोकचोकमा गीतसंगीत बजाएर होली खेल्दै नाचगान गरेका थिए ।

‘ह्याप्पी होली’, ‘आयो होली’ जस्ता शब्द र रंगीविरंगी अक्षरसहित होली झल्काउने नाइलन र कटनका ‘वाइट टिर्सट’मा युवायुवती रङ्गिएका थिए ।

चितवनका कलेजहरुमा युवायुवतीहरुले बुधबार नै होली पर्वको स्वागत गरेका थिए । अल्लारे उमेर समूहका मात्र होइन, टुकुटुकु हिँड्ने बच्चा र बच्चाका वयश्क बाआमा पनि होलीमा झुमेका थिए । ‘वर्ष दिनमा आउने सबैको पर्व होलीमा झुमियो । कसैलाई जबर्जस्ती रंग नदली, लोला नहानी सभ्य तरिकाले होली पर्व मनाइयो’ रत्ननगरकी शिक्षिका बबिता खतिवडाले भनिन् ।

होली खेल्दाखेल्दै घरको छत वा सडक निस्केर मोबाइलमा सेल्फी हान्न युवायुवती व्यस्त थिए । संस्कृतिविद्हरुले होलीको मौलिक पहिचान मासिन थालेको बताइरहेका बेला सेल्फीबिनाको होली नुनबिनाको सब्जीझैं बनेको भेटियो । होलीमा सेल्फी नहान्ने युवायुवती सडकमा कमै देखिन्थे ।

असत्यमाथि सत्यको जित भएको खुसीयालीमा होली मनाइएको पाइन्छ । एक–आपसमा सद्भाव, मेलमिलाप, खुसीयाली बाँढ्ने सबैको पर्वका रूपमा होलीलाई लिइन्छ । पौराणिक किम्वदन्तीअनुसार दानव हिरण्यकस्यपुले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रह्लादलाई मार्न धेरै किसिमका षड्यन्त्र गरेका थिए । हात्तीले कुल्चाउँदा, भीरबाट लडाउँदासमेत प्रह्लाद मरेनन् । प्रह्लादलाई मार्ने अर्को षड्यन्त्र स्वरूप हिरण्यकस्यपुले बहिनी होलिकासँगै अग्निकुण्डमा पठाएका थिए । आगोले नजल्ने वरदान पाएकी होलिका अग्निकुण्डमा आगोमा जलेर मरिन् तर प्रह्लादलाई भने आगाको ज्वालाले छोएन । दुष्ट स्वभावकी होलिका त्यसरी आगोले भस्म भएर मरेको, असत्यमाथि सत्यको जित भएको खुसीयालीमा हरेक वर्ष होली पर्व मनाइँदै आइएको छ ।

संस्कृतिविद्हरुले होलीको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पक्षबारे नयाँ पुस्ता जानकार हुनुपर्ने धारणा राख्छन् । अभिभावक र पुराना पुस्ताले आफ्ना सन्ततीलाई होलीको पहिचानबारे अवगत गराउनुपर्छ ।
‘होलीको पहिचान सेल्फीले मेट्न दिनुहुँदैन, सभ्य सौहाद्र तरिकाले होलीको पहिचान नमेट्ने गरी मनाउनु पर्छ’ सामाजिक शिक्षक कमल खनालले भने । उनले अहिलेको पुस्तामा नेपालकै मौलिक पहिचान झल्काउने, होलीबारेका गीत–संगीतभन्दा बढी आधुनिक र पश्चिमा मुलुकका गीत–संगीतमा नाचगान र रमाइलो गर्ने प्रचलन बढेको बताए । उनले अहिलेका युवापुस्ता चाडपर्वमा मादक पदार्थ सेवन गर्नैपर्छ भन्ने संस्कार बढ्दै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *