राजपाका नेता लाल बने ‘महामुर्ख’

जनकपुरधाम, फागुन १७ । राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष ब्रिखेशचन्द्र लाल ‘महामुर्ख’ घोषित भएका छन् । जनकपुरमा मिथिला नाट्य कला परिषदले हरेक वर्ष फागु पूर्णिमाको अवसर पारेर आयोजना गर्ने महामुर्ख सम्मेलनमा यसवर्ष राजपा नेता महामुर्ख बनेर उपाधि जितेका हुन् ।

जनकपुरमा प्रत्येक वर्ष होली पर्वका अवसरमा एक दिन होली (होरी) महोत्सव र अर्को दिन महामुर्ख सम्मेलनको कार्यक्रम आयोजन गरेर महामुर्खको उपाधि दिने गरिन्छ ।

उक्त सम्मेलनमा मैथिली भाषा क्षेत्रका साहित्यकार तथा कवि र लेखकहरूद्वारा बिभिन्न हास्य कबिता तथा गजलहरूको बाचन हुन्छ । कविहरूले कवितामार्फत समसामयिक विषय, राजनीतिक अवस्था तथा विभिन्न किसिमका समस्याहरूप्रति व्यंग्य गर्छन् ।

मिथिलामा होलि पर्ब मनाउँदा यसरी नै होलीका गीत तथा गजलहरू गाएर व्यंग्य गर्ने ठूलो अवसर प्राप्त हुन्छ । यो अवसरमा गरिने कुरालाई सामान्य (व्यंग)का रुपमा लिइने भएकाले पनि कविहरुले मौकाको सदुपयोग गर्न छुटाउँदैनन् ।

मैथिली, नेपाली अंग्रेजी र हिन्दी सहित बहुभाषी भए पनि पद, प्रतिष्ठा वा पुरस्कारको कुनै पनि लोभ लालच नगरी आफ्नो मातृभाषा मैथिलीमा सेवा गरेका कारण उनको योगदानलाई सम्मान गर्दै आयोजक मिनापले २०७४ सालको महामुर्ख उपाधि सहित प्रशस्ती पत्र प्रदान गरेको जनाएको छ । त्यसै गरी अन्य बिधाहरुको शीर्षकसहित मुर्खका अन्य व्यक्तिलाई मुखको उपाधि प्रदान गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाको उपमेयर रिता देबी मिश्रलाई मैनाबतिको, प्रदेश सांसद राम आशिष यादवलाई हराशंखको, प्रदेश सभा सांसद परमेश्वर साहलाई लोढाशंकरको, महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डललाई हिरामन (मुर्ख)को उपाधि प्रदान गरिएको छ ।

यस्तै वीरगंजका पत्रकार महेश दासलाई बंशकुरहैरको, अधिवक्ता रेखा झालाई अदलबदलीको, प्रतिनिधिसभाका सांसद प्रमिला देवी दासलाई दिलतोडीयाको, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साहलाई गिरगीटीयाको, मैथिली बिकाश कोषको अध्यक्ष जीवनाथ चौधरीलाई बज्रकीटको, साहित्यकार ब्रजमोहन झालाई चपाटनन्दनको, हंसपुर नगरपालिकाका मेयर रामग्यान मण्डललाई खेशारिलालको र जिल्ला क्रिकेट संघका अध्यक्ष हीरा भगतलाई मुसरिलाल (मुर्ख)को उपाधि प्रदान गरियो ।

प्रतिनिधि सभाका सांसद मुक्ता कुमारी यादव र हंसपुर नगरपालिकाकी उपमेयर रेनू देवी झालाई पनि मूर्खको उपाधि प्रदान गरिएको छ । उपाधि प्राप्त गर्न सफल भएका व्यक्तिलाई बिभिन्न तरकारीसहितको माला पहिर्याइएको थियो भने ब्यंगात्मक तस्वीर सहितको चित्रकला पनि प्रदान गरिएको थियो । महामूर्ख सम्मेलनमा हजारौं दर्शकहरू सहभागी भएका थिए ।

यसअघि माओबादी केन्द्रका नेता रामचन्द्र झा, एमाले नेता शीतल झा, राजनीतिक विश्लेषक सीके लाल, एमाले नेता शत्रुघन महतो लगायतले महामुर्खको उपाधि प्राप्त गरिसकेका छन् । बिगत २२ बर्षदेखि मिनापले महामुर्ख सम्मेलनको आयोजन गर्दै आएको छ । मिनापका पुर्ब अध्यक्ष सुनील कुमार मल्लिकका अनुसार मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा अधिकारको क्षेत्रमा काम गर्ने मैथिली अभियान्ताहरूलाई महामुर्ख तथा बिभिन्न तहका मुर्खहरूको उपाधि प्रदान गरिन्छ । मिनापले आफै कार्यदल गठन गरेर ती उपाधि कसलाई प्रदान गर्ने भनेर निर्णय गर्ने गरेको मल्लिक बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *