संसद भवनमा राष्ट्रपति निर्वाचनको कार्यालय

काठमाडौं, फागुन १७ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुनेगरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति निर्वाचनको मतदान गरिने निर्वाचन आयोगले जनाउको छ ।

नयाँ संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो भने संघीय संसद भवन परिसरभित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार विहिबारबाट राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले सरकारसँग परामर्श गरी आगामी फागुन २९ गते मंगलबार राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । २९ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरु मतदाता रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *