रोकिएन ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन् र चोरी निकासी

नवलपरासी, फागुन १७ । नवलपरासीमा दिन प्रतिदिन बढ्दै गएको नारायणी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी अझै रोकिएको छैन ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) नारायणी नदीबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन् गरी र चोरी निकासी अझै नरोकिएको हो ।

नदीबाट निकालिएका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन् गरी जिल्लाका स–साना सीमावर्ती नाका हुँदै भारत निकासीसमेत हुने गरेको छ । गाउँमा मठमन्दिर निर्माण एवं अन्य घरायसी काम देखाउँदै झुक्याएर कारोबारीले नदीजन्य पदार्थको अवैध उत्खनन गरी भारततर्फ चोरी निकासी गर्दै आएका छन् । नदीबाट अवैध उत्खनन गरी ल्याइएको ती नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) लाई रातको समयमा भारततर्फ पठाइने गरिन्छ । यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।

कारोबारीले नदीबाट झिकिएको नदीजन्य पदार्थ ट्रयाक्टरमा लोड गरी सुस्ता गाउँपालिकाको पक्लीहवा, कुडिया, नर्सहीलगायतका स्थानमा डम्पिङ (संकलन) गरी राख्ने गरेका छन् ।  नारायणी नदीमा डुंगाको प्रयोग गरी ढुंगा, गिट्टी, बालुवालाई नदीको छेउसम्म ल्याउने र त्यसपछि रातको समयमा भारत निकासी गर्दै आएका छन् ।

नियमानुसार नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि स्थानीय कारोबारीले अवैधरुपमा नदीबाट दिनहुँ लाखौँको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैधरुपमा उत्खनन गरी भारत निकासी गर्दै आइरहेका छन् ।

डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थ दैनिकरुपमा ५० देखि ७० ट्र्याक्टर भारत पठाउने गरिएको पाइएको छ । नेपालमा भन्दा भारतमा दोब्बर रकममा बिक्री हुने भएकाले दैनिक ५० देखि ७० वटा टेक्टर भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयको भनाइ छ ।

नेपाल भारतको गण्डक सम्झौताअनुसार नारायणी नदीबाट नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा)को निकासी गर्न ठेक्का लगाउन नपाइने प्रावधान छ । नदीजन्य पदार्थको कारोबारीले सोझै नदीबाट उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन र प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या देखिएको हो ।

सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा करिब एक करोड बढी मूल्य बराबरको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) डम्पिङ गरेर राखिएको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट नदीजन्य पदार्थ चोरी हुने गरेको छ । उक्त स्थान रामनगर प्रहरी चौकीबाट करिब ३०० मिटरको दूरीमा छ । सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा गरी दैनिक १०० देखि १५० ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ ।

नदीजन्य पदार्थको चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना आएपछि गाउँपालिकाले त्यसलाई व्यवस्थित गर्न अनुगमन गरेको छ । विभिन्न स्थानमा राखिएका अवैध नदीजन्य पदार्थको परिमाण संकलन गरेर लिलाम प्रक्रिया अघि बढाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनका क्रममा सुस्ता क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ संकलन गरेर राखेको पाइएको बताएको छ । त्यसबारे प्रतिवेनदन तयार भइरहेको र स्थानीय तहमार्फत कानूनी दायरामा ल्याउन प्रक्रिया अघि बढेको बताएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *